श्रम मन्त्री बिष्ट र कृषी मन्त्री खनालले ‘गोपी’ हेर्ने


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ पुष

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले र कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले चलचित्र ‘गोपी’ को टिमसँगको भेटघाटमा यो फिल्म हेर्ने बताएका छन् ।

गोपीको टिमसँग सिंहदरबारस्थित श्रम मन्त्रालयमा मंगलबार मन्त्री बिष्टले भेटेका थिए । सो भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए ।

सो भेटमा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्मका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए । उनले फिल्म हेर्ने प्रतिबद्धता जनाएको पनि निर्माण पक्षले जनाएको छ ।

निर्देशक दीपेन्द्र लामाका अनुसार फिल्मबारे मन्त्री बिष्टले सो भेटमा भने,‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ ।’सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लागेको बताउँदै मन्त्री यस्तो बचन दिए, ‘फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’सँग ‘गोपी’को टिमले बुधबार भेटेको छ । दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनालले आफू पनि कला पारखी भएको बताउँदै फिल्मले सान्दर्भिक विषय उठाएको बताए । सोही कारण आफ्नो मन्त्रालयले सघाउने बचन उनले यो फिल्म निर्माण टिमलाई दिएका छन् ।

आफु नेपाली फिल्मको नियमित दर्शक भएको तर हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा पनि नेपाली फिल्म हेर्ने गरेको उनले जिकिर गरेका छन् । गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान आफुले गरेको र यस्ता फिल्म ज्यादा भन्दा ज्यादा बन्नुपर्छ भन्ने लागेको पनि मन्त्री खनालले बताएका छन् ।

उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा ‘गोपी’ बनेकाले मन्त्रालय फिल्मसँग सहकार्य गर्न तयार रहेको पनि बताए,‘नीति नियम के छन् त्यो हेरेर तपाईंहरुलाई खबर गरुँला । तर, फिल्मप्रति मन्त्रालय सकारात्मक भएको जानकारी गराउँछु,’ मन्त्री खनालले भने ।

बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको यो चलचित्र १८ माघबाट मुलुकका सिनेमा हलमा हुँदैछ ।