अर्पण र प्रियंका अनागतमा श्रीमान श्रीमती


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ पुष

अभिनेत्री प्रियँका कार्कीलाई चलचित्र ‘अनागत’मा श्रीमतीको भूमिकामा देख्न पाईने भएको छ । अभिनेता एवम् निर्देशक अर्पण थापाको श्रीमतीको रुपमा यो फिल्ममा उनी प्रस्तुत हुँदैछिन् । निर्माण पक्षले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराएको हो ।

आउँदो ११ माघबाट यो फिल्म देशव्यापी रिलिज हुँदैछ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

पत्रकार भेटघाटका क्रममा आफ्नो भूमिका बारे अभिनेत्री प्रियँकाले कार्यक्रममा भनिन्,‘ फिल्ममा यहाँहरुले मलाइ एउटी कुशल श्रीमतीको भूमिकामा देख्नु हुनेछ ।मैले फरक भूमिकाको लागि यस किसिमको रोल रुचाएको थिए र त्यसपछि यस्तो भूमिका अरु फिल्ममा गर्न पाएको छैन ।’

यस्तै अभिनेता अर्पणले एउटा कुशल श्रीमानको परिवारमा कति जिम्मेवारी हुन्छ भन्ने बारे आफ्नो भूमिकाबाट दर्शकले बुझ्ने बताए । फिल्मको कामबारे उनले भने,‘मैले धेरै फिल्म गरिसके तर यो फिल्म मेरो निकै नजिक रहेको फिल्महो । यो चलचित्रको चरित्रबाट मलाई बाहिर निक्लन निकै समय लागेकाले मेरो लागि अनागत बिशेष र महत्वपूण फिल्म हो ।’

‘सस्पेन्स थ्रिलर’ जनराको यो फिल्मलाई समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले निर्माण गरेका हुन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् । अनागतको कथा चन्द्र कुमार झाको र पटकथा सम्बाद प्रवचन श्रेष्ठ तथा निर्देशक भुटियाको हो ।

निर्देशक भुटियाले मनोविज्ञानमा आधारित फिल्ममा एक परिवारको कथा देखाइएको बताए ।

फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुबेदी सहितका कलाकारलाई देख्न पाईन्छ ।