आफ्नो दोहोरो अन्तरवार्ता सहित बुलबुलको प्रचारमा स्वस्तिमा


ब्युटी न्युज नेपाल
काठमाडौं २२ पुष

आगामी ३ फागुनबाट मुलुकका सिनेमा हलमा प्रदर्शन हुने चलचित्र बुलबुलको प्रचारका लागि यो चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले आफ्नै फिल्मी चरित्रको अन्तरवार्ता लिएको भिडियो बनाएर सार्वजनिक गरिएको छ ।

फिल्मकी टेम्पो चालक रणकला (स्वस्तिमा)लाई सञ्चारकर्मी स्वस्तिमाले अन्तरवार्ता लिएको देखाईएको छ । भिडियो रमाईलो छ । दुबै स्वस्तिमालाई एउटै फ्रेममा उतारिएकाले दृष्य रमाईलो बनेको छ ।

निर्देशक विनोद पौडेलले स्वस्तिमाले फिल्ममा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए ।

‘पहिला दुई टिजरमा हामीले चोपेन्द्रलाई स्थापित गर्ने लक्ष्य राखेका थियौं । हामीलाई प्राप्त प्रतिक्रियाले हामी त्यसमा सफल भएको महसुस गरेका छौं । यसैगरी हामी रनकलालाई पनि परिचित गराउन चाहान्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो,’पौडेलले भने, ‘स्वस्तिमाले आफूलाई कुन तहमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

पौडेलको यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।