छायाँकन नहुँदै मारुनीको रिलिज मिति


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ पुष

चलचित्र मारुनी को छायाँकन सुरु नै गरिएको छैन । तर यसको प्रदर्शन मिति तय गर्दैै प्रचार प्रसार सुरु गरिएको छ । फिल्म माघको अन्तिम साताबाट बल्ल छायाँकनमा जाने छ ।
निर्माण पक्षले वितरक एफडी कम्पनीसँग आगामी १३ भदौमा मारुनी रिलिजको मिति तय सहित वितरणको जिम्मा दिएको छ ।

मारुनीलाई पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतम क्षत्रीले निर्माण गर्दैछिन् । एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति छानिएको बताएका छन् । निर्माता गौतमले पनि एफडीसँगको सहकार्यले फिल्मलाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने बताएकी छिन् ।

फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्मलाई गोविन्द फुयाँल र निर्देशक नवल नेपाल स्वयं मिलेर लेखेका हुन् । मारुनीमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ ।

संजय लामाको छायांकन रहने मारुनीका अन्य निर्मातामा अजय पोखरेल र राजा प्रधान छन् । हरि सिलवालले निर्माण ब्यबस्थापन सम्हाल्ने छन् । फिल्ममा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह, रेबिका गुरुङ, सुनिशा क्षत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीको अभिनय रहनेछ ।