चौका दाउले  पुरा गर्यो सन्तोष पन्तसँग फिल्म खेल्ने रबिन्द्रको सपना 


ब्युटी न्युज नेपाल 

काठमाडौं, १६ पुष 

स्कुले जीवनमा सडक नाटक गर्दा रबिन्द्र झालाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पथ्र्यो । हिजो आजको कुरा हेरेर उनले हास्य ब्याँग्य गर्न सिकेको पनि खुलासा गरेका छन् । त्यहीबेला देखि सन्तोष पन्तसँग काम गर्न पाए कस्तो हुन्थ्यो भन्ने सोच्ने गर्थे उनले । तर त्यो चाहना यतीबेला पुरा भएको छ ।

चलचित्र चौका दाउले उनको चाहना पुरा गरिदिएको हो । पत्रकारसँग उनले भेटघाट कार्यक्रममा भने,‘सन्तोष पन्त दाईसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । चलचित्र चौका दाउमा उहाँसँग काम गरेर हिलो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ ।’

चौका दाउमा पहिलो दिन सन्तोष पन्तसँग काम गर्दाको अनुभवबारे रबिन्द्रले भने,‘उहाँ साह्रै बरिष्ट कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो पर्यो र म निक्कै नर्भस भएँ । तर सन्तोष दाई यती चाँडै नजिक हुनुभयो की भोली पल्टबाट उहाँसँग काम गर्न मलाई सजिलो हुँदै गयो ।’

यसमा रबिन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । रबिन्द्रकै भनाईमा उनी यो फिल्ममा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन्,‘जग्गा खरिद बिक्रीको काममा पृथ्वीमात्र हैन, चन्द्रमा समेत प्लटिङ गरेर बेच्न बाँकी नराख्ने भनेपछि म कति खतरनाक जग्गा ब्यापार हुँला त । जे भए पनि मैले निर्वाह गरेको भूपतिको रोलबाट दर्शकले मनोरञ्जनसँगै जग्गा दलालीको फन्दाबाट कसरी बच्ने भन्नेबारे पनि जानकारी लिन सक्नु हुनेछ ।’

यो फिल्ममा सन्तोष पन्त सहित आफु, तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगाना गरी पाँचै जनाले उर्वषी अर्थात वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भूमिका निर्वाह गरेको पनि रबिन्द्रले बताए,‘वर्षाको पाँच पाण्डबको रुपमा हामी छौं । जसमध्य म युधिस्ठिर जस्तो सोझो छु भने सन्तोष दाई अर्जुन जस्तो चलाख र चतुर बन्नु भएको छ, तैयब दाई पनि उर्वषी भनेपछि सबैकुरा छाडेर उसकै पछि लाग्ने माहिर व्यापारीको रुपमा हुनुहुन्छ ।’ रबिन्द्रले हाँस्दै भने,‘सन्तोष पन्त र तैयव शाहजस्ता बरिष्ट कलाकारहरुले केटीको पछि लाग्ने अल्लारे भूमिका गर्दा उहाँहरुको अघि त हामी फिक्का पो हुँदा रहेछौं ।’

यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । पूर्णेन्दुको काम आफुलाई निकै मन परेको र समग्रमा चौका दाउ एउटा हास्यप्रधानसँगै रमाईलो फिल्म बनेको पनि रबिन्द्रले बताए । चौका दाउको लागि आफुले चलचित्र छक्का पञ्जा ३ मा समय दिन नसकेर त्यो फिल्म खेल्न नभ्याएको पनि उनले खुलासा गरे ।

पुष २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र चौका दाउलाई सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । चलचित्र चौका दाउको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् ।