सालको पातको भिवर्स डेढ करोड, अग्रजलाई सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ पुष

सर्वाधिक लोकप्रिय गीत सालको पात टपरी हुने हे बरै नहुने सालैको…गीतले डेढ करोड भन्दा बढी भिवर्स कमाएको छ । नेपाली लोकदोहोरी गीतको इतिहासमा सबैभन्दी धनी भिवर्स कमाउने गीतको भिडियो पनि सालको पात नै सावित भएको छ ।

यही खुसीमो यो गीतको निर्माण टिमले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर केक काट्दै सम्मान तथा बोनस प्रदान गरेको छ । गीतले नयाँ रेकर्ड कायम गरेको भन्दै यो गीतको म्युजिक भिडियोका निर्देशक शिव विक, मोडल तथा अभिनेत्री मरिश्का पोखरेल, छायाँकार ज्ञानेन्द्र शर्मा, नृत्य कलाकार, भिडियोका लाइटम्यानलाई बोनस रकम प्रदान गरिएको हो ।

यो गीतका संगीतकार बसन्त थापा, गायक कुलेन्द्र बिकले समारोहमा अग्रज लोक श्रष्टालाई आफ्नो कम्पनीको तर्फबाट सम्मान गरे ।

समारोहमा बरिष्ट लोक गायकहरू कृष्णसुधा ढुंगाना, नारायण रायमाझी, लोक कलाकार दुर्गा रायमाझी, शर्मिला गुरुङ, ऋषि अधिकारी, इन्द्र जीसी, रामजी खाँडलगायतलाई सम्मान गरिएको हो । सोही क्रममा काठमाडौं कीर्तिपुर स्थित बाल आश्रय स्थल ‘माया घर’लाई सो कार्यक्रममा १५ हजार रुपैयाँ सहयोग गरियो ।

बसन्त थापाको संगीत, नवराज पन्तको रचना, आशिष अविरलको संगीत संयोजक रहेको यो लोकप्रिय गीतमा कुलेन्द्र विक र विष्णु माझीको स्वरको छ ।

यसअघि वसन्त थापाकै गीत उही खोलीको पानी‘को भिडियोलाई युट्युबमा करोडपटक भन्दा बढी हेरिएको थियो । त्यो गीतको रेकर्ड तोड्दै उनकै यो गीतले सबै भन्दा बढी भिवर्स कमाएको हो ।

कार्यक्रममा बोल्दै यो गीतका संगीतकार वसन्त थापाले दर्शकहरूको मायाले आफूहरूको गीत अन्तर्रा्ष्ट्रिय क्षेत्रमै लोकप्रिय भएको र यो मायाले आफूहरूलाई अझ राम्रा गीत बजारमा ल्याउन प्रेरित गरेकोे बताए । उनले लोकदोहोरी गीत सबैतिरबाट हेपिएका बेला सालको पातले लोकदोहोरी गीतको सान बढाएको छ भन्दै सबैलाई धन्यबाद ज्ञापन गरे ।

‘कलाकार, प्राविधिकको मेहनतले नै गीत र भिडियो राम्रो र हिट भएकाले युट्युबबाट प्राप्त रकम उहाँहरूलाई नै बोनसस्वरूप प्रदान गरेका हौं,’ वसन्तले भने ।

गायक कुलेन्द्र विकले सबैको मेहनतले गर्दा यो गीतको भिडियोले एउटा इतिहास बनाएको हो भने । उनले यो गीतले आफूसँगै नेपाली लोकदोहोरी कलाकारको शिर उच्च बनाएको बताए ।