चलचित्र गोपीका लागि कविता आह्वान


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ पुष

चलचित्र ‘गोपी’ बारे कविता प्रतियोगिता आह्वान गरिएको छ । निर्माण कम्पनीले बुधबार कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिने यसका निर्देशक दीपेन्द्र लामाले जनाएका छन् ।

‘प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । उमेरको कुनै हदबन्दी छैन । सहभागीले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।’ निर्देशक लामाले भने,‘सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ र कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ ।’ माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गरिने पनि उनले बताए ।

गोपी फिल्मलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको सिन निर्देशक लामा अवगत गराए । स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुने उनले बताए ।

आरोही इन्टरटेनमेन्टले निर्माण गरेको गोपी आगामी १८ माघमा रिलिज हुँदैछ । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।

सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।