क्रिसमस इभमा जाडोलाई चुनौती दिँदै यस्तो फेसन शो (हेर्नुस भिडियो)


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ पुष

इभेन्ट बेटर ग्यालेक्सीले क्रिसमस २०१८ को अबसर पारेर ललितपुरको होटल समिटमा आयोजना गरेको ‘क्रिसमस फेसन पार्टी’ आयोजना गर्यो । सोमबार साँझ भएको फेशन शोमा ७ बजेबाट राति ११ बजेसम्म मोडलहरू विभिन्न फेशनमा र्याम्पमा उत्रिए ।

इभेन्ट बेटर ग्यालेक्सीको यो सातौं क्रिसमस फेशन पार्टी हो । फेसन सोमा मोडल मुन शेर्पा, सञ्जिता राउत, प्रशिष्मा बुढाथोकी, सितु महर्जन, सिर्जना गौतम, अजु राई, सोना तामाङ, सुमन पौडेल, रविना खर्वुजा, बिनी लामा र एलिजा क्षत्री र्याम्पमा उत्रिएका थिए ।

काठमाडौंको डिल्लीबजारमा रहेको क्लोज सेट नेपालद्धारा तयार गरिएका टप्स, स्कर्ट, हाफपाइन्ट, सर्ट, जिन्सजस्ता विभिन्न समर फेशनको प्रस्तुतिसँगै फेशन शो सुरु भयो । यसरी पुषको जाडोलाई चुनौती दिँदै विभिन्न गर्मी पहिरनमा युवती सो को पहिलो सिक्वेन्समा र्याम्पमा उत्रँदा त्यहाँको माहोल फरक बनेको हो ।

दोस्रो सिक्वेन्स पार्टी गाउनको थियो । दुर्गा कलेक्सन भक्तपुरले तयार गरेको पार्टी गाउनअन्तर्गत विभिन्न प्रकारका गाउनमा मोडलहरू र्याम्पमा उत्रिए । तेस्रो सिक्वेन्स वान पिसको थियो । पेज थ्रि फेसनले तयार गरेको यो सिक्वेनमा सबै जसो मोडलहरूले वान पिस प्रस्तुत गर्दै फेसन सो गरे ।

चौथो सिक्वेन्स पस्मिनामय बन्यो । रातको करिब १० बजे यो सिक्वेन्समा पस्मिनाको पहिरनमा र्याम्पमा उत्रँदा मोडलहरूले केही न्यायोको महसुस गरे । यो सिक्वेन्समा पस्मिनाको लङ गाउन, सर्ट गाउन, वान पिसलगायतका पहिरन उनीहरूले र्याम्पमा प्रस्तुत गरे । पस्मिना नेपालले तयार परेको पस्मिना पहिरन यो सिक्वेन्समा प्रस्तुत गरिएको थियो ।

जारी रहेको मध्य जाडो र त्यसपछि आउने गर्मीका पहिरनलाई लक्षित गरेर क्रिसमसको इभमा आफूहरूले विगत सात वर्षदेखि फेसन सो गर्दै आएको आयोजक संस्था इभेन्ट बेटल ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारले बताए ।

युवा पुस्तासँगै बालबालिकाको पनि केही फेसन सिक्वेन्स राखिएको थियो । लिटिल प्रिन्स र प्रिन्सस प्रतियोगिता हुन लागेकाले बालबालिकालाई पनि फेसन सोमा उतारिएको कार्यक्रम निर्देशक अभिमन्यु शर्माले बताए । क्रिस्मस फेसन सोको कोरियोग्राफी यसस्था जोशी र सानियाँ खड्कीले गरेका हुन् ।

गायक आनन्द कार्कीले वनमा फुल्यो फूल..सहित आफ्ना आधा दर्जन गीत गाएर कार्यक्रमलाई थप संगीतमय तुल्याएका थिए । डान्सर मनीषा सापकोटा, कलाकार याङसु श्रेष्ठ र क्रिस्टिना खड्काले प्रस्तुत गरेको आकर्षक नृत्यले फेसन सोको रौनक बढाएको थियो । रोजिन शाक्यले फेसन सोलाई सञ्चालन गरेका थिए ।