पुनः छायाँकनमा नालापानी


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ पुष
चलचित्र अझ कसरी राम्रो बनाउने भन्ने हेतुले चलचित्र नालापानी केही थप दृश्यका लागि पुनः छायाँकन गरिएको छ ।  यसका केही दृश्य पुनः छायांकन गरिएको चलचित्रका निर्देशक रिमेश अधिकारीले बताए । ‘भक्तपुरको तेलकोटामा  हामीले चलचित्रका केही दृश्यहरु पुनः छायाँकन गरिरहेका छौ’ रिमेशले भने । ‘हामी चलचित्र निर्माणको अन्तिम चरणमा छौं, केही दृश्य थप गर्नु पर्ने भएकाले पुनः छायाँकन गरिएको हो’, उनले थपे ।
चलचित्रको केही समयअघि टिजर सार्वजनिक भएको थियो । भीएफएक्स प्रयोग भएको चलचित्रको टिजरमा मेकिङ लोभलाग्दो देखिन्थ्यो भने ब्याकग्राउन्ड स्कोर उस्तै उम्दा रहेको थियो ।

चलचित्रमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता विष्ट, प्रनिश शाक्य, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, सुष्मा भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ  ।
बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र वसन्त खत्री मगरले भीएफएक्स गरेको यस चलचित्रलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन्  । प्राचार्य रामराजा कुँवर र प्रा। डा। धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ चलचित्र आधारित रहेको निर्माणपक्षले जनाएको छ । चलचित्र नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउँदै छ ।
पद्माकुमारी फिल्मस प्रा.लि. र गंगानारायण फिल्मस् प्रा।लि।को संयुक्त व्यानरमा बनेको यस चलचित्रमा मनोज शाक्य निर्माताको रुपमा रहेका छन्  । रिमेश अधिकारी निर्देशित चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्  ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज(नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भइरहेको हो ।