दर्शक हँसाउँदै आयो गरुड पुराणको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ पुष

चलचित्र ‘गरुड पुराण’को ट्रेलर सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ । ट्रेलर अनुसार यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ । यो फिल्म आगामी ४ माघबाट प्रदर्शनमा आउने छ ।

विवाहमा बाजा बजाउनेहरुको कथा यो फिल्ममा भएकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको यसका निर्देशक सुवास कोइरालाले कार्यक्रममा बताए । उनका अनुसार टे«लर निकै रमाईलो बनेको छ । यो फिल्म हास्य प्रधान रहेको र दर्शकले चलचित्रबाट पूर्ण मनोरञ्जन लिने निर्देशक कोईरालाले बताए ।

यो चलचित्रको ट्रेलर अनुसार अभिनेता नाजिर हुसेन यो फिल्ममा विवाहमा बाजा बजाउने दलित युवाको भूमिकामा छन् । उनकी कन्जुस र झगडालु माईजुको भूमिकामा लुनिभा तुलाधरलाई देख्न पाईन्छ ।

ट्रेलरमा अभिनेता कर्मा शाक्य र नवोदित अभिनेत्री प्रियंका सिंहलाई प्रेम संघर्षमा देखाईएको छ । यसमा रामेश्वर चौरसिया खल चरित्रमा छन् । अर्का अभिनेता प्रविण खतिवडा पनि पैसाको लागि संघर्ष गरिरहेको युवाको भूमिकामा छन् । गरुड पुराणका अन्य कलाकारमा जान्हवी बोहरा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टलगायत छन् ।

गरुड पुराणलाई सुसन प्रजापतिको छायाँकन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ ।

यो फिल्मको म त पिरेममा…गीत अहिले चर्चामा छ । निश्चल बस्नेत सहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोशिश क्षत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको स्वर छ ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् ।