विपिन र गाईको सम्बन्ध देखाउँदै गोपीको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

आगामी १८ माघमा रिलिजको घोषणा गरिएको चलचित्र गोपिको ट्रेलर बुधबार राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ । जसमा बैदेशिक रोजगारबाट फर्किएको एक युवकलाई स्वदेशमै केही गरौं भनेर गाई पालकको रुपमा प्रोत्साहन गरिएको छ ।

फिल्ममा विपिन कार्की गाई पालक गोपीको चरित्रमा छन् । गाईसँग विपिनको लगाव र सम्बन्धलाई फिल्ममा समेटिएको ट्रेलरले जनाउँछ । उनको सहयोगीमा सुरक्षा पन्त छिन् । वर्षा राउत जेटिएको भूमिकामा देखिएकी छिन् । विभिन्न कारणले गाई पालन धरासाई भएपछि फेरी गाई पाल्ने गोपीको चाहना जागेको ट्रेलरको क्लाईमेक्समा देखाईएको छ । नेपालमै केही गरौं भन्ने युवाहरुको चाहनालाई प्रोत्साहन गर्ने हिसाबले यो चलचित्र बनाईको निर्देशक दीपेन्द्र लामाले कार्यक्रममा बताए । यसले कृषि र स्वरोजगारको कथा भन्ने पनि उनको कथन थियो ।

फिल्मलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । अहिलेको आम सिनेमा भन्दा केही फरक र मौलिक कथाबस्तुमा सिनेमा तयार गरिएको लेखक तिमिल्सिनाले बताए । यो कथाले आफुहरुले खोजेको पनि उनले जनाए ।

अभिनेता विपिन कार्कीले यस्तो जैविक सिनेमा खेल्न पाउँदा खुसी छु भने । अभिनेत्री वर्षा राउतले यस्ता सिनेमा कम नै बन्ने भएकाले यो टिमसँग राम्रो फिल्ममा काम गर्न पाएको छु भनिन् । अर्की अभिनेत्री सुरक्षा पन्तले पनि सिनेमाको कथाबस्तु र निर्माणको प्रसँसा गरिन् ।

आरोही फिल्मस्का लागि मणिकर्ण केसीले निर्माण गरेको गोपीको कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । जसमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, गोविन्द राईको नृत्य निर्देशन छ ।