लभ स्टेशन १ चैतबाट रिलिज हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

पारिवारिक प्रेम कथामा आधारित चलचित्र ‘लभ स्टेशन’ १ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित लभ स्टेशनको रिलिज अब १ चैतमै गरिने निर्माण पक्षले घोषणा गरेको छ ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

यस अघि यो फिल्मलाई फागुनको अन्तिम तेस्रो साता वा चैतमा रिलिज गर्ने भनिएको थियो । यो चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले बुधबार लभ स्टेशनको रिलिज मिति घोषणा गर्दै यसलाई १ चैतमा रिलिज गर्नुको कारणबारे भने,‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।
हाल अष्ट्रेलियामा रहेका अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए ।

हाल सम्पादनको अन्तिम चरणमा रहेको लभ स्टेशनको अर्को साताबाट स्वराँकन सुरु हुने पनि प्रस्तुतकर्ता शाहीले बताए । चलचित्रको दुई ओटा गीत तयार छ भने दुई गीतको छायाँकन चाँडै नै गरिनेछ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको छ ।