दुःखीको सेवा गर्दै मनाईयो जय भोलेको ५१ दिन


ब्युटी न्युज नेपाल
काठमाडौं २१ मंसिर

चलचित्र ‘जय भोले’ले आफ्नो सफल प्रदर्शनीको ५१ दिन मनाएको छ । गत ३० असोज फुलपातिमा रिलिज भएको यो चलचित्रले मँगलबार काठमाडौंका चार ओटा सिनेमा हल क्युएफएक्स सेन्टर, गोपिकृष्ण, गुण र गँगामा सफल प्रदर्शनको ५१ दिन मनाएको हो ।

सोही अबसर पारेर चलचित्रका निर्माता निर्देशक अशोक शर्माले काठमाडौंको गोंगबु आबास क्षेत्रमा रहेको मानव सेवा आश्रममा जय भोलेका ५१ औं दिनको कार्यक्रम बिहिबार बेलुका आयोजना गरे । त्यहाँ आश्रित करिब तीन दर्जन दुःखीहरुलाई खाना खुवाएर र जाडोको लागि न्यानो कपडा वितरण गरेर ५१ दिनको कार्यक्रम मनाईएको हो ।

जीवनमा रमाईलो गर्ने अब चाड पर्व अबसर हुने भएकाले आफ्नो चलचित्रले ५१ दिनको सफलता हाँसिल गरेका कारण यो खुसी मानव सेवा आश्रममा रहनुभएकाहरुसँग साटेको निर्माता निर्देशक अशोक शर्माले बताए । उनले अर्को दशैंमा चलचित्र ‘रातो टिका निधारमा’ रिजिग गर्ने पनि बताए ।

५१ दिनसम्म प्रदर्शन भएको चलचित्र जय भोलेले अहिलेसम्म ७ करोड भन्दा केही बढीको व्यापार गरेको निर्माता निर्देशक अशोक शर्माले बताएका छन् । यो चलचित्रको अब बिदेश प्रदर्शनसँगै अर्को चलचित्रको काम सुरु गर्ने पनि उनले बताए ।

कार्यक्रममा जय भोलेका अभिनेता खगेन्द्र लामिछानेले यसरी ५१ दिन समारोह सामाजिक कार्यका साथ गर्न पाउँदा खुसी लागेको छ भने । अभिनेता सौगात मल्लले पनि आफुहरुको सफलतामा आश्रममा रहेकाहरुलाई सहयोग गर्न पाउँदा ५१ दिनको महत्व झनै बढेको बताए । हास्य अभिनेता जयनन्द लामाले यो कार्य प्रसँसनीय भएकाले अरुले पनि यस्तो सफलतामा सामाजिक कार्य गर्नु पर्ने सुझाब दिए ।

जय भोलेका कलाकार एवम् अभिनेता अर्जुन श्रेष्ठले जय भोले टिमको यो कार्यबाट आफु प्रभावित भएको भन्दै मानव सेवा आश्रमलाई ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरे । जय भोलेका छायाँकार पुरुषोत्तम प्रधानले पनि आफ्नो टिमले यसरी उदाहरणीय सामाजिक कार्य गरेको भन्दै सो कार्यको प्रसंसा गरे ।