अनमोल र बेनिशाले चुमे अभिनेता अभिनेत्रीको अवार्ड


‘लक्स कामना फिल्मस् अवार्ड्स–२०७५’

ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मंसिर

‘लक्स कामना फिल्मस् अवार्ड्स–२०७५’ मा अभिनेता अनमोल केसीले दयाहाङ राई, सौगात मल्ल, पुष्प खड्का जस्ता खारिएका अभिनेतालाई पछारेका छन् । अनमोलले सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘कृ’ बाट चुमेका छन् । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा सिनेमा प्रदर्शन शैलीमा आयोजना गरेको यो अवार्ड समारोहमो अनमोलले यो अवार्ड चुमेका हुन् ।

समारोहमा अभिनेत्री बेनिशा हमालले सर्वोत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड चलचित्र ‘ब्लाइन्ड रक्स’बाट चुमिन् ।

३५औं वार्षिक उत्सवको अवसर पारेर कामना पब्लिकेसनले सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामनाले प्रतिस्पर्धी २८ विधामा र बाँकी अप्रतिस्पर्धी गरी ३१ विधामा यो अवार्ड प्रदान गरिएको थियो ।

यस्तै समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड चलचित्र ‘लिलीबिली’ले हाँसिल गरेको छ । सर्वोत्कृष्ट निर्देशकको अवार्ड पनि चलचित्र लिलीबिलीबाटै मिलन चाम्सले हाँसिल गरेका छन् । चलचित्र बीर बिक्रम २ को छायाँकनमा मुस्ताङमा व्यस्त भएका कारण उनी अवार्ड ग्रहणगर्न आउन सकेनन् । यस्तै सर्वोत्कृष्ट नवअभिनेत्रीको अवार्ड पनि लिली बिलीबाटै जसिता गुरुङले हाँसिल गरिन् । चलचित्र ‘ग्याङ स्टार ब्लुज’बाट आशिरमान देशराज जोशीले नव अभिनेताको अवार्ड प्राप्त गरे । नव निर्देशकतर्फको अवार्ड चलचित्र ‘घामपानी’बाट दीपेन्द्र लामाले जिते भने दीपेन्द्रले चलचित्र घामपानीबाटै सर्वोत्कृष्ट कथाको अवार्ड पनि कार्यक्रममा उचाले ।

यस्तै, समारोहमा सर्वोत्कृष्ट खल अभिनेताको अवार्ड चलचित्र ‘संरक्षण’मा रमेशरञ्जन झाले चुमे भने संरक्षणबाटै हिमाल केसीले सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जिते । सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड चलचित्र ‘शत्रु गते’बाट शिवहरि पौडेलले र सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘छक्का पञ्जा–२’बाट वर्षा राउतले प्राप्त गरे । हास्य कलाकारतर्पmको अवार्ड चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट राजाराम पौडेलले र बालकलाकारको अवार्ड चलचित्र पिँजडा ब्याक अगेनबाट कुशाग्रह भट्टराईले चुमे ।

वर्षको अभिनेत्रीहरुबीच प्रतिस्पर्धा हुने ‘लक्स स्टार अफ द इयर’को अवार्ड अभिनेत्री प्रियंका कार्कीले हासिल गरिन् ।

यस्तै प्राविधिक विधातर्फ सर्वोत्कृष्ट पाश्व संगीतको अवार्ड चलचित्र लिलीबिलीबाट एलिस कार्कीले, सर्वोत्कृष्ट चलचित्र सम्पादनको अवार्ड कृबाट सुरेन्द्र पौडेलले, सर्वोत्कृष्ट चलचित्र छायांकनको अवार्ड कृबाटै पुरुषोत्तम प्रधानले, नृत्य निर्देशकको अवार्ड चलचित्र २ रुपैयाँको कुटुमा कुटु…गीतको नृत्य निर्देशनबाट कविराज गहतराजले हाँसिल गरे ।

जसअन्तर्गत चलचित्र संगीततर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड चलचित्र ‘ऐश्वर्य’को गीत तिमी रोएको पल…बाट अर्जुन पोखरेलले, चलचित्र गीतकारको अवार्ड चलचित्र संरक्षणको सम्झनाको सारंगी…बाट धिरेन्द्र प्रेमर्षीले, सर्वोत्कृष्ट चलचित्र गायकको अवार्ड चलचित्र ‘ऐश्वर्य’कै गीत तिमी रोएको पल…बाट र चलचित्र गायिकाको अवार्ड फिल्म ब्लाइन्ड रक्सको गीत उड्यो मन…बाट बानिका प्रधानले प्राप्त गरिन् ।

समारोहमा लेखनतर्फ सर्वोत्कृष्ट पटकथाको अवार्ड चलचित्र शत्रु गतेबाट दीपकराज गिरी र प्रदीप भट्टराईले संवादको अवार्ड पनि शत्रु गतेबाटै हरिवँश आचार्य र प्रदीप भट्टराईले संयुक्त रूपमा प्राप्त गरे ।
कामना अवार्डमा समारोहमा ध्वनि मिश्रणको अवार्ड चलचित्र लिली बिलीबाट मुकेश शाहले, शृंगारतर्फको अवार्ड चलचित्र घामपानीबाट शंकर थापाले पाए ।

समारोहमा जुरी र क्रिटिक्स अवार्ड पनि प्रदान गरिएको थियो । जुरी अवार्ड चलचित्र ‘भुइँ मान्छे’का लागि नवराज बुढाथोकीले, स्पेसल मेनसन अवार्ड अभिनयतर्फ भुइँ मान्छेबाटै अभिनेता रमेश बुढाथोकीले र चलचित्र ‘शेरबहादुर’बाट सुनिल थापाले प्राप्त गरे ।

यस्तै तीन विधामा प्रदान गरिएको क्रिटिक्स अवार्डअन्तर्गत नाट्यतर्फबाट सिजी क्रिटिक्स नाट्यकर्मी वीरेन्द्र हमाललाई, संगीततर्फको सिजी क्रिटिक्स अवार्ड संगीतकार कालीप्रसाद बासकोटालाई र फेसनतर्फको सिजी क्रिटिक्स अवार्ड फेसन डिजाइनर अनु श्रेष्ठलाई प्रदान गरियो ।

चौथो संस्करणको यो अवार्ड समारोह अवार्डसँगै संगीत र नृत्यमय पनि भएको यिथो । अग्रज कलाकार भुवन चन्द, चैते देवी, भुवन केसी, झरना थापा, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, प्रियंका कार्की, अयुषमान देशराज जोशी हुँदै प्रदीप कार्की र जसिता गुरुङसम्मले आआफ्ना चर्चित गीतमा गरेको नृत्य कार्यक्रमको आकर्षक बनेको थियो ।

यस्तै आनन्द कार्की, निशा देशार, रामचन्द्र काफ्ले, कृष्ण काफ्लेसहित विभिन्न कलाकारले पुरानादेखि नयाँ चलचित्रका गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याए । अभिनेता सरोज खनालको समूहले कवितामाथि गरेको अभिनय जति प्रशंसनीय थियो । वीरेन्द्र हमाल र उनका साथीहरुले फूलको थुँगा…गीतमा द्वन्द्वमा अपांगता भएका नेपाली सेनाहरुको कथा समेटेर गरेको भावनृत्य पनि त्यत्तिकै सशक्त थियो ।
अभिनेता सरोज खनाल र गौरी मल्लको सलिन कार्यक्रम सञ्चालनसँगै अभिनेता प्रदीप खड्का र अभिनेत्री केकी अधिकारीले हास्यप्रधान कार्यक्रम सञ्चालन पनि दर्शकका लागि त्यत्तिकै रोचक बनेको थियो । यी सबैलाई सञ्चालनमा मुख्य संयोजन नरेश भट्टराईले गरेका थिए ।

शम्भुजीत र महजोडीलाई लाईफ टाईम एचिमेन्ट

मेलोडिकिङ संगीतकार शम्भुजीत बासकोटा र बरिष्ठ हास्यव्यंग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी)ले लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५(‘कीर्तिमय दीर्घ योगदान सम्मान) बाट सम्मानित गरियो ।

लगातार साढे तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिएर ३ सयभन्दा बढी चलचित्रको संगीत सिर्जनासहित हजारौं लोक, आधुनिक, पप, राष्ट्रिय गीतमा संगीत सिर्जना गरी नेपाली संगीतको विकासमा श्रीवृद्धि गरेको भन्दै अग्रज संगीतकार शम्भुजीतलाई कीर्तिमय दीर्घ योगदान सम्मान प्रदान गरिएको कार्यक्रममा बताइयो ।

यस्तै, लगातार साढे तीन दशकदेखि नेपाली चलचित्र, टेलीचलचित्र, नाट्य, प्रहसनजस्ता क्षेत्रमा निरन्तर अभिनयसँगै लेखन तथा समाजिक कार्यक्रममा पु¥याएको अतुलनीय योगदानको कदरस्वरूप अग्रज कलाकारद्वय मह जोडीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको कार्यक्रममा बताईको थियो ।