१३ ओटा हलमा छक्का पञ्जा ३ को ५१ दिन


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मँसिर

चलचित्र छक्का पञ्जा ३ ले सफल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । गत २४ असोज घटस्थापनाबाट यो चलचित्र प्रदर्शन भएको हो । छक्का पञ्जा ३ ले काठमाडौं उपत्यका र मोफसलका गरी १३ ओटा हलमा लगातार प्रदर्शनको ५१ औँ दिन पुरा गरेको निर्देशक दीपाश्री निरौले जानकारी गराएकी छिन् ।

निर्देशक निरौलाका अनुसार यो चलचित्रले काठमाडौं उपत्यकाको क्युएफएक्स सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिएसआर गोंगबु, अष्टनारायण पिक्चर्स बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो ।

आफ्नो चलचित्रले मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्स जालमा नारायणगढ, क्युएफएक्स बागेश्वरी नेपालगञ्ज र विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको पनि निर्देशक निरौलाले जानकारी गराएकी छिन् ।

आफ्नो सिनेमालाई दर्शकले रुचाएर लगातार ५१ दिनसम्म पनि सफल प्रदर्शनीमा साथ दिएकामा निर्देशक निरौलाले दर्शकलाई धन्यबाद ज्ञापन गरेकी छिन् ।
यसका निर्माता अभिनेता दीपकराज गिरीले छक्का पञ्जा ३ ले आफुहरुसँग बितरक र प्रदर्शकलाई पनि खुसी पारेको बताएका छन् । आफुहरुले यसपटक हलुका कमेडी भन्दा पनि बिषयबस्तुलाई जोड दिएको पनि अभिनेता गिरीले बताए ।

यो चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामालगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे र निर्मातामा दीपकराज, दीपासँगै सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ छन् ।