२.0 सँगै शक्रुबारबाट शान्ति


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मंसिर

चलचित्र ‘शान्ति’ आगामी शुक्रबारबाट रिलिज हुने भएको छ । यो मितिमा बलिउड फिल्म २.० रिलिज हुने भएपछि अरु नेपाली फिल्म पछि हटेका हुन् । सोही कारण शान्ति प्रदर्शनमा आउन लागेको हो ।
फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ शुक्रबारबाट रिलिज हुने जानकारी दिएको हो ।

सामाजिक पारिवारिक कथाबस्तु रहेको यो चलचित्रलाई दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ । निर्देशक लिङ्देनले फिल्मले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थता, नारीको संवेदनशिलता जस्ता विषयलाई समेटेको बताए ।

‘फिल्म सरल र शिष्ट शैलीमा निर्माण गरेका छौं । समाजको कथालाई हामीले फिल्ममार्फत देखाएका छौं,’निर्देशक लिङ्देनले भने,‘फिल्म एक वर्ष अघि नै निर्माण गरिएको हो । तर केही प्राविधिक कारणले यसपटक रिलिजको माहौल बन्यो ।’

फिल्ममा सुशिल क्षत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो ।

फिल्मका नवनायक सन्जिब थेवेले पहिलोपटक फिल्ममा काम गर्दा केही गाह्रो भएको अनुभव सुनाए । त्यस्तै नवनायिका सुप्रिया श्रेष्ठले फिल्मको कथाबस्तुले आफूलाई लोभ्याएको बताईन् । संगीतकार विकास चौधरीले आफूले पहिलोपटक फिल्मी पाश्र्वगायन ‘शान्ति’बाट शुरु गरेको खुलाए । यो फिल्मका दुई गीतमा विकासकै स्वर छ ।

फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पाश्र्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ ।

कविता राई लिङ्देन प्रस्तुतकर्ता, बसन्त थेबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको यो फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।