ब्युटी न्युज नेपाल
काठमाडौं ११ मंसिर

आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पार्दै ‘हिमालय रोडिज सिजन–२’को टाईटल आयुष श्रेष्ठले जितेका छन् । हिमालय टेलिभिजनबाट सोमबार राती प्रस्तुत गरिएको दोस्रो सिजनको अन्तिम एपिसोडमा आयुष बिजेता घोषणा भएका हुन् । उनले उपाधिसँगै १० लाख ९० हजार नगद, २५० सिसीको मोटर बाइक प्राप्त गरेका छन् ।

यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हात्तिवन सामुदायिक जंगल आयोजना गरिएको थियो । अन्तिम प्रतिस्पर्धामा आफ्ना दुई प्रतिस्पर्धी पिरबीर घले र तेजस बस्नेतलाई पछि पार्दै आयुस दोस्रो रोडिज बिजेता भएका हुन् । यो सिजनमा तेजस दोस्रो र पिरबीर तेस्रो भए ।

यो साँढे तीन महिनादेखि हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो । दोस्रो सिजनको जर्नी राउन्डका लागि विभिन्न अडिसनबाट १३ जना छानिएका थिए । ती १३ जनामा आयुष यसपटक रोडिजको उपाधि चुम्न सफल भएका हुन् ।

यो भारतीय टेलिजिभन च्यानलबाट प्रशारण हुने एमटिभी रोडिजको फ्रेन्चाईज कार्यक्रम हो । नेपालमा प्रशारण हुँदै आएका रियालिटी शोजहरु मध्य सबैभन्दा कठिन सोजको रुपमा हिमालय रोडिजलाई लिने गरिएको यसका निर्देशक अमन अधिकारीले बताएका छन् । हिमालय रोडिजको सिजन २ पनि त्यत्तिकै सफल रुपमा सम्पन्न भएकोमा कार्यक्रम निर्देशक अधिकारीले खुसी व्यक्त गरेका छन् ।

शारीरिक, मानसिक र बौद्दिक खेलको रुपमा लिईएको हिमालय रोडिजको यस पटक पनि निर्णयकमहरुमा पहिलो सृँखलाका निर्णायक रेमनदास श्रेष्ठ, दिया मास्के र आशिष राना ‘लाउरे’ नै थिए ।