अभिनेता बिपिन दुई सातापछि जात्रै जात्राको सुटिङमा फर्कने 


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर

मँगलबार बिहान दुर्घटनामा परेपछि अभिनेता बिपिन कार्की अस्प्तालबाट घर फर्किएका छन् । चलचित्र ‘जात्रै जात्रा’को छायाँकनमा जाने क्रममा उनी चढेको मोटरसाईकललाई अर्को मोटर साईकलले कालिमाटीमा ठक्कर दिँदा उनको दाइने खुट्टाको नली हाड भाँचिएको थियो । सोही दिन बल्खुको बयोधा अस्पतालमा बिपिनको खुट्टाको अप्रेसन गरिएको थियो । उनी अस्पतालबाट आज डिस्चार्ज भएका छन् । अहिले उनी ‘बेड रेस्ट’मा छन् ।

निर्देशक प्रदीप भट्टराईका अनुसार दुई साताको आरामपछि चिकित्सकले बिपिनलाई काममा फर्कन र बिस्तारै हिडडुल गर्न सक्ने बताएका छन् । त्यसैले बिपिन दुई सातापछिबाट जात्रै जात्राको छायाँकनमा आउन सक्ने भट्टराईको जानकारी गराए । फिल्मको क्लाईमेक्स फाईट केही समयपछि गरे पनि बाँकी छायाँकन यो महिनाको अन्तिमसम्म सक्ने लक्ष्या प्रदीपको छ ।

आफ्नो चलचित्र १७ फागुनमै रिलिज हुने प्रदीपले बताएका छन् । बिपिनको दुर्घटनापछि जात्रै जात्राको छायाँकन रोकिएका कारण यो फिल्म १७ फागुनमा रिलिज नहुने चर्चा चल्न थालेको थियो ।

चिकित्सकको सल्लाह अनुसार दुई सातापछिबाट बिपिनले सुटिकमा बिस्तारै काम गर्न सक्ने भएकाले समयमै यसको छायाँकन सकिने र जात्रै जात्रा १७ फागुनमा हलमा आउनेमा ढुक्क हुन प्रदीपले दर्शकलाई अनुरोध गरेका छन् ।

गत वर्ष जात्रा हिट भएपछि सिक्वेलको रुपमा जात्रै जात्रा निर्माण गरिएको हो । जात्रै जात्राको २५ प्रतिसत छायाँकन पुरा भईसकेको छ । यो चलचित्रमा बिपिनसँगै वर्षा राउत, दयाहाङ राई, राजाराम पौडेल, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।