प्रदीप र जसिताको लभ स्टेशन ‘इन्ड क्लाप’


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर

चलचित्र ‘लभ स्टेशन’को बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ । चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित लभ स्टेशनको केक काट्दै क्लाप इन्ड गरिएको हो ।

तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट बुधबार बेलुका सकिएपछि केक काटेर इन्ड क्लाप गरिएको हो । लभ स्टेशनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ । अब बाँकी दुई गीत मध्य हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीतका आगामी अँग्रेजी नयाँवर्षको छेका पारेर जापानमा छायाँकन गरिने छ ।

प्रेमकथामा आधारित यो चलचित्रको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको थियो । चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।