छायाँकनमा साईनो, भुवन बनिन निर्माता,


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ मंसिर

२०४४ सालमा चलचित्र साईनो निर्माण भएको थियो । त्यसको तीन दशकपछि यही नाममा अर्को चलचित्रको निर्माण सुरु भएको छ । नयाँ चलचित्र साईनोको सोमबारबाट काभ्रेदेखि छायाँकन सुरु भएको छ ।

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले यो चलचित्र निर्माण गरिरहेकी छिन् । छायाँकनमा जानु अघि आईतबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको थियो ।

समसामयिक कथाबस्तुमा चलचित्र साईनो आफुले निर्माण गर्न लागेको प्रथम अभिनेत्री भुवन चन्द थापाले बताईन् । साईनोलाई कलाकार रमेश थापाले निर्देशन गरिरहेका छन् ।

४० दिनमा छायाँकन सक्ने लक्ष्य लिईएको यो फिल्मको काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकलगायतका स्थानमा सुटिङ गरिँदैछ ।

भारतबाट आएका कलाकार राजकुमारले यो फिल्मबाट नायकको रुपमा डेब्यु गर्दैछन् । यसमा उनी सहित निता ढुँगाना, मिरुना मगर, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, रामेश्वर बुर्लाकोटी, राजा राजेन्द्र पोखरेल, रोय दीप श्रेष्ठ, बिशाल पहाडी, भिमसेन लामालगायतको मुख्य भूमिका छ ।

अभिमन्यु निरवीले लेखेको साईनोको छायाँकारमा रामेश्वर कार्की, सम्पादकमा बनिश शाह, कोरियोग्राफरमा रामजी लामिछाने, संगीतकारमा बसन्त सापकोटा छन् ।