टिभी फिल्मीको स्टेशन म्यानेजरमा बिष्णु सुबेदी नियुक्त


व्युटी न्युज नेपाल
काठमाडौं, २ मंसिर

टिभी फिल्मीको स्टेशन म्यानेजरमा बिष्णु सुबेदी नियुक्त भएका छन् । टेलिभिजनको आठौं वार्षिक उत्सवको अवसर पारी सुबेदीलाई आइतबार स्टेशन म्यानेजर नियुक्त गरिएको टेलिभिजनकी अध्यक्ष निकिता पौडेलले जनाएकी छिन ।

स्टेशन म्यानेजरमा नियुक्त भएका सुबेदी नेपालमा सञ्चालित राष्ट्रिय स्तरका स्याटेलाइट टेलिभिजनको नेतृत्व गर्ने सबैभन्दा कान्छो उमेरका पत्रकार/म्यानेजर बनेका छन् । बिगत ७ वर्ष देखि टिभी फिल्मीको समाचार प्रमुखका साथै विगत साढे ३ वर्ष देखि डेपुटि स्टेशन म्यानेजरका रुपमा कार्यरत् सुबेदीको सृजनशिलता तथा नेतृत्वदायि क्षमताका आधारमा उनलाई स्टेशन म्यानेजरको जिम्मेवारी दिइएको अध्यक्ष पौडेलले जनाएकी छिन । विगतमा टेलिभिजनको सफलतामा सुबेदीको नविनतम् सोच, प्रस्तुति र कुशल ब्यवस्थापकिय भूमिका महत्वपूर्ण रहेको भन्दै उनले स्टेशन म्यानेजरका रुपमा सुबेदीले टेलिभिजनलाई नयाँ उचाईमा पु¥याउने विश्वास ब्यक्त गरेकी छिन ।

यता नवनियुक्त म्यानेजर सुबेदीले टेलिभिजन सञ्चालन समितिले आफु माथि गरेको विश्वासलाई थप बलियो बनाउने जनाएका छन् । उनले टेलिभिजनका कार्यक्रम र प्रस्तुतिका साथै गुणस्तरमा पनि थप सुधार गर्दै जाने बताएका छन् । समयको परिवर्तनसँगै अब आफुहरुले प्रस्तुत गर्ने हरेक विषयवस्तुमा नविनता खोज्ने उनको भनाई छ । उनले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा अब्बल टेलिभिजन प्रसारणका रुपमा टिभी फिल्मीलाई स्थापित गर्न आफु र आफ्नो नेतृत्वको टिम निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाएका छन् ।

चलचित्र पत्रकारितामा स्थापित सुबेदी टेलिभिजनमा दैनिक चलचित्रको समाचार प्रसारण आरम्भ गर्ने र त्यसलाई स्थापित गर्ने पत्रकारका रुपमा पनि परिचित छन् । त्यसो त उनले सञ्चालन गर्दै आएको कार्यक्रम फिल्मी बहस पनि निकै लोकप्रिय छ । सुबेदी विगत १३ वर्ष देखि पत्रकारितामा संलग्न छन् ।