४३ हलबाट आयो चलचित्र दैलो


व्युटी न्युज नेपाल
काठमाडौं, ३० कात्तिक

कलाकार शुरेस उप्रेतीले निर्देशन गरेको चलचित्र ‘दैलो’ शुक्रबारबाट मुलुकका ४३ ओटा सिनेमा हलमा रिलिज भएको छ ।

आफ्नो सिनेमा काठमाडौंको गोपिकृष्ण, गुण, अष्टनारायण, कलँकीसहित ८ ओटा र मोफसलका ३५ गरी ४३ ओटा सिनेमा हलबाट प्रदर्शनमा आएको यसका निर्माता निर्देशक शुरेस उप्रेतीले व्युटी न्युज नेपाललाई जानकारी गराए ।

चलचित्रको व्यापार बारे निर्देशक उप्रेतीले शुक्रबार व्युटी न्युज नेपालसँग भने,‘आज पहिलो दिन काठमाडौंमा औसत व्यापार छ भने मोफसलका सिनेमा हलमा व्यापार केही राम्रो छ । भोली शनिबार भएकाले आज भन्दा पक्कै राम्रो हुने छ ।’

चलचित्रमा आफुले नाटकका कलाकारलाई मुख्य भूमिकामा उतारेको पनि निर्देशक उप्रेतीले बताए । चलचित्रमा आफु सहित विकाश चापागाई, सपना श्रेष्ठ, दुर्गा साउद, दीपक डोटेल, मुना प्रसाई, दीक्षा आचार्य, प्रदीप अधिकारी, अनु ढुँगाना सहितको अभिनय रहेको पनि उनले जानकारी गराए ।

निर्देशक उप्रेतीका अनुसार चलचित्र दैलो पारिवारिक कथामा आधारित छ । एउटा शिक्षकको संघर्षपूण जीवनकथामा दैलो बनेको छ ।