व्युटी न्युज नेपाल
काठमाडौं २६ कात्तिक

चलचित्र ‘समर लभ’को रिलिज मिति तय गर्दै निर्माण टिमले सोमबार फस्ट लुकको रुपमा केही पोष्टर सार्वजनिक गरेको छ । सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो चलचित्र माघ २५ मा हलमा लाग्ने निर्माण पक्षले जनाएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री समेटिएका छन् । पोष्टरमा आशिष र रेवतीको प्रेम सम्बन्धका दृष्य समेटिएको छ ।
फिल्ममा आउनु अघि आशिषको पृष्ठभूमि मोडलिङ हो भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । रेवतीले भारतमा यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

 

एक वर्ष अघि छायाँकनमा गएको यो चलचित्र बल्ल फिल्म हलमा आउन लागेको हो । समर लभका निर्देशन मुस्कान ढकाल हुन् । उनले यसअघि ‘नाइँ नभन्नू ल–३’ को निर्देशन गरेका थिए ।

सुबिनको कथा, सामीप्यराज तिमल्सेनाले पटकथाको रहेको यो फिल्मको संवाद सुबिन र सामीप्यले लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

विदेशको केही दृष्य सुटिङ गर्नु पर्ने भएकोले फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको निर्देशक ढकालले बताए,‘किताबको उचाई पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं’ढकालले भने ।