अमेरिकामा नाचगान गर्दा उठेको रकम चेपाङ बालबालिकालाई


व्युटी न्युज नेपाल
काठमाडौं २५ कात्तिक

अमेरिकामा १३ अक्टोबरमा केसी डान्स सेन्टरले आयोजना गरेको कलिउड नाइट २०१८ बाट उठेको रकम चेपाङ बालबालिकाको शिक्षाका लागि प्रदान गरिएको छ ।

अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बीच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सो एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक हस्तान्तरण गरे । सो रकमको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई प्रदान गरिएको छ ।

कार्यक्रमबाट संकलन भएको ७ सय ११ अमेरिकन डलरमा महेन्द्र कुँवरले ५ सय डलर र श्याम बजिमायाले १०१ डलर थपी एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया नेपाल पठाएका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको सांस्कृति कार्यक्रमबाट उठेको पैसा केसी डान्स सेन्टरका संस्थापक द्वय नविन केसी र लुना श्रेष्ठ मार्फत आफुले यस केन्द्रमा सहयोग स्वरुप प्रदान गरेको बताए । उनले यो रकम गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ भने । अभिनेता खनालले चेपाङ्ग बालबालिकालाई पढेर ठुलो मान्छे बन्नु पर्छ भन्दै शिक्षा भन्दा ठुलो केहि नहुने बताए । यस केन्द्रले चेपाङ्ग बालबालिकालाई शिक्षा दिएकोमा केन्द्र सञ्चालकलाई उनले धन्यबाद दिए ।

गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोबाट केन्द्रले शिक्षामा योगदान दिन सकेको बताए । केन्द्रले अहिले १३२ जना चेपाङ्ग बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको र केन्द्रबाट करिब ४ सय भन्दा बढी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएको जानकारी गराए ।