दर्शक हँसाउन एनटिभीबाट मुन्द्रेको कमेडी क्लब


व्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

टेलिभिजन च्यानलमा दर्शकलाई हँसाउन हास्यव्याँग्य अभिनेता जितु नेपालले नेपाल टेलिभिजनबाट स्ट्यान्डर्ड कमेडी ‘मुन्द्रेको कमेडी क्लब’ सो सुरु गर्दैछन् । तिहारको अवसर पारेर १९ कात्तिकबाट हरेक सोमबार बेलुका ८ः५० बजे नेपाल टेलिभिजनबाट यो कार्यक्रम ४० मिनट प्रसारण हुनेछ । कार्यक्रमलाई कि एड्भरटाइजिङ इन्टरट्रेनमेन्टले निर्माण गरेको हो ।

शनिबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै उनले मुन्द्रेको कमेडी क्लबका केही दृश्यहरू सार्वजनिक गरेका छन् । मुन्द्रेको कमेडी क्लबबारे शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा जितु नेपालले भने,‘झट्ट सुन्दा र हेर्दा विदेशी कमेडी सोको नक्कल हो कि जस्तो दर्शकलाई सुरुमा लागे पनि यो विशुद्ध मौलिक नेपाली कमेडी सो हो । कुनै पनि अन्तर्राष्ट्रिय कमेडी सोबाट हामीले फ्रेन्चाइज नलिई नेपाल स्टाइलको सेट, वेशभूषा र लवजसहित नेपाली समाजकै विकृति र विसंगति चिर्नु यो कार्यक्रमको उद्देश्य हो ।’

मुन्द्रेको कमेडी क्लबमा मुख्य हास्यपात्रका रूपमा जितु नै रहेका छन् । यी दुई कलाकारसँगै राजाराम पौडेल, फुलन्देकी आमाका रूपमा चर्चा कमाएका उमेश राई र पोखराका हास्य कलाकार राजेन्द्र नेपालीको प्रहसन रहेको छ । यसमा अभिनेत्री एवं चलचित्र निर्देशक दीपाश्री निरौलाले अध्यक्षका रूपमा प्रस्तुत भएर हँसाउँदै छिन् ।

चार वर्षअघि जितुको हास्यव्यंग्य टेली शृंखला जिरे खुर्सानी नेपाल टेलिभिजनबाट बन्द भएपछि दर्शकहरूलाई आफू बिर्सन नसकेकै कारण आफ्नै नामबाट कमेडी क्लब लिएर आएको पनि जितुले बताए । दुई दशकअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य कार्यक्रम ट्वाक्क टुक्कबाट जितुले हास्य यात्रा सुरु गरेका थिए । त्यसपछि लामो समय नेपाल टेलिभिजनबाट प्रशारण भएको हास्यव्यंग्य टेली शृंखला जिरे खुर्सानीमा उनी मुन्द्रेका रूपमा करिब एक दशक प्रस्तुत भए ।

क्लबकी अध्यक्ष दीपाश्री निरौलाले आफूहरू फिल्म निर्माणमा व्यस्त रहेको र केदार घिमिरे युट्युब च्यानलतिर व्यस्त रहेकाले टिभीका दर्शकलाई मुन्द्रेको कमेडी क्लब लिएर आएको बताइन् ।