व्युटी न्युज नेपाल
काठमाडौं, १४ कात्तिक

चलचित्र ‘द ब्रेक अप’को रिमेक ‘आज हाम्रो भेट भाको दिन…’को भिडियो रिलिज गरिएको छ । यो गीत चलचित्र ‘ज्वाला’को हो । यो एक समय साह्रै लोकप्रिय भएको थियो । आगामी २७ पुसमा रिलिजको घोषणासहित चलचित्र ब्रेकअपको यो गीतको भिडियो मंगलबार रिलिज गरिएको छ । दर्शकलाई तिहारको उपहारस्वरूप यो भिडियो रिलिज गरिएको यसका निर्देशक हेमराज बीसीले जानकारी गराएका छन् ।

यो गीतलाई पहिला सिलाबहादुर मोक्तानको संगीत दिएका थिए । त्यतिबेला यो गीतलाई उदितनारायण झा र दीपा झाले गाएका थिए । यो गीतलाई अहिले विराज गौतम र मेलिना राईले गाएका छन् । रिमेकमा संगीत संयोजन ब्रिजेश श्रेष्ठको रहेको छ ।

द ब्रेकअपमा पनि यो गीतमा सरोज खनाल आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको नृत्य रहेको छ । गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । चलचित्र ज्वालामा पनि यो गीतमा अभिनेता सरोज खनाल नाचेका थिए ।
यो चलचित्रलाई रूपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बीसीले निर्माण गरेका हुन् । नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रको कथा पनि निर्देशक बीसीले नै लेखेका हुन् ।

द ब्रेकअपमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनालसहितको अभिनय छ । द ब्रेकअपमा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।