एचआइभी पीडितको कला देखेर प्रधानमन्त्री पत्नी शाक्य भावुक


व्युटी न्युज नेपाल
काठमाडौं, ७ कात्तिक

दसैं उपहार सहित किर्तिपुर स्थित सफलता एचआइभी शिक्षा सदन पुगेकी प्रधानमन्त्री पत्नी राधिका शाक्य त्यहाँ बालबालिकाको कला देखेर भावुक भईन् । उनी दसैंको खुशी बा“ड्न हालै त्यहाँ पुगेकी हुन् । एचआइभी सँक्रमित बालबालिकाले सो कार्यक्रममा गीत, कविता र कला प्रदर्शनी गर्दा शाक्यले निकै भावुक भएकी हुन् ।

उपप्रधानमन्त्री इश्वर पोखरेलकी पत्नी मीरा ध्वजु, कवि अनिता लामालगायतको टोली सहित त्यहाँ पुगेकी शाक्यलाई ४ कक्षाकी बन्दना क्षत्री (नाम परिवर्तन)ले मनछुने गीत गाएर सुनाइन् । १० बर्षिया उनले बाबु आमाको मायाबाट टाढा रहेर बाँच्नुपर्दाको पीडालाई यसरी सुनाएकी थिइन्–

यही धर्तीमा जन्मे, यही“ हुर्के, तर म अटिनँ 
एक्लै छोडी कहाँ गयौ आमा, किन मलाई लगिनौं

राजकुमार पुनको शब्द रहेको यो गीत उनले आफ्नै स्वरमा रेकर्ड गर्न लागेको पनि सुनाइन् । संगीत भने दृष्टिविहिन संगीतकार रमेश सुवेदीले दि“दैछन् ।

‘ठुलो भएपछि म गायिकाबन्न चाहन्छु’, उनले भनिन् । माहौल झन् भावुक बन्यो । यसपछि उनको गायिका बन्ने सपनालाई हौसला दिँदै कवि अनिताले केही कवितासँगै आनी छोइङको गीत ‘फूलको आँखामाफूलै संसार…’ सुनाइन् । एचआइभीपीढित सबै बालबालिका उठेर गाउन थाले, प्रधानमन्त्री पत्नी शाक्यले पनि स्वरमा स्वर मिसाइन् ।

‘त्यसै पनि बालबालिकालाई माया चाहिन्छ’, प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘सानैमा बाबुआमा गुमाउनु परेकाहरुलाई त झन माया र हौसला दिनुपर्छ ।’

कार्यक्रममा एचआइभी पीडितले सम्मानपुर्वक बाँच्ने सामाजिक चेतना तयार पार्न सबैले उनीहरुलाई माया दिनुपर्ने प्रधानमन्त्री पत्नी शाक्यले सुझाइन् । एचआइभी पिडितहरुले पहिचान सहित सम्मानित जीवन जिउन पाउनुपर्छ भन्ने मान्यता सहित आफूहरुले ८ बर्ष अघि विद्यालय स्थापना गरेको सदनका संस्थापक अध्यक्ष राजकुमार पुनले बताए । दाङ, प्युठान, सुर्खेत, कैलाली, दैलेख, बर्दिया लगायतका एचआइभी पिडित विद्यार्थीहरु मात्रै अध्ययन गर्ने विद्यालयबाट यसबर्ष पहिलो ब्याचले एसईई दिन लागेको संस्थापक उपाध्यक्ष उमा गुरुङले बताइन् ।

पहिचान खुलेकै कारण पश्चिम नेपालको विभिन्न गाउ“का स्कुलबाट लखेटिएका दुई दर्जन एचआइभी पीडित विद्यार्थीहरु खुशीले रमाए ।

‘हामीलाई पनि चाडपर्वमा आफन्तसँग बसेर रमाउलो गर्न मन लाग्छ’, कक्षा ८ की सलिना थापा (नाम परिर्वतन)ले भनिन्, ‘यसपटक पुरानो दसैंको याद आयो ।’ प्युठानको एउटा सरकारी स्कुलमा पढ्दा पढ्दै जन्मिदै एचआइभीभएको थाहा पाएपछि उनी लखेटिएकी थिइन् । त्यसयता उनी सफलता एचआइभी शिक्षा सदनमा आश्रित छिन् ।

प्रधानमन्त्री पत्नी शाक्यको स्वागतमा स्कुलमै आयोजित कार्यक्रममा उनले मोडलिङ गरेर देखाएकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो जीवनको उदेष्य सुनाउँदै विभिन्न कला देखाएका थिए । ‘म मोडल र अभिनेत्री बन्न चाहन्छु’, सलिनाले भनिन् ।

शाक्यले एचआइभी पीडित बालबालिकाको यो समुहलाई तेस्रो पटक भेटेकी थिइन् । गत तीजको बेला प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर दर समेत खुवाएकी शाक्यले यसपटक निवासमै यो टोलीलाई बोलाएर टिका पनि लगाई दिइन् । प्रधानमन्त्री केपी शर्मा ओली समेत राखेरसँगै भोजन पनि गराइन् ।