जय भोले एकसाथ १२५ हलबाट रिलिज, सुरुवात सुखद


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

३० असोज फूलपातीबाट चलचित्र ‘जय भोले’ रिलिज भएको छ । यो चलचित्र मुलुकका १२५ वटा सिनेमा हलबाट रिलिज हुन लागेको यसका निर्माता एवं निर्देशक शर्माले बताएका छन् । यसका निर्माता निर्देशक अशोक शर्मा हुन् । उनका अनुसार यसपालिको बडादसैंको अवसर पारेर फूलपातीको दिन जय भोले रिलिज गरिएको हो । फिल्मको व्यापार मल्टिप्लेक्स देखि सिंगल थिएटरमा समेत उत्साहजनक भएको शर्माले बताएका छन् ।

फुलपातीमा फिल्म रिलिज गर्नुको कारणबारे उनले भने,‘दसैंमा धेरैको बिदा हुने र खानपिन तथा टीकाटालोपछि फुर्सदको समय दर्शकहरू हलमा जाने भएकाले दसैंको अवसर पारेर हामीले चलचित्र जय भोले रिलिज गरेका हौं ।, फिल्मको दर्शक फ्लो बढ्दै गएको र अष्टमीबाट अझ शो थपिने विश्वास आफुले लिएको पनि निर्देशक शर्माले बताएका छन् ।

हास्यप्रधान भनिएको यो चलचित्र दुई साथीबीचको सम्बन्धमा आधारित रहेको पनि निर्देशक शर्माले बताए । खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा केही कुरा विशेष रहेको पनि उनले प्रस्ट्याए ।

चलचित्र जय भोलेमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी, निर्देशक अशोक शर्मासहितको अभिनय छ ।

झापा आसपासको क्षेत्रमा छायांकन गरिएको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । जसमा राजनराज शिवाकोटीको संगीत रहेको छ ।