नेपाल सांगीतिक सम्मानबाट सात श्रष्टा सम्मानित


व्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

नेपाली संगीत क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै नेपाल सांगीतिक संघले राष्ट्रिय सांगीतिक सम्मान विभिन्न विधाका सात अग्रज संगीतकर्मीहरूलाई सम्मानित गरेको छ । कार्यक्रम एकजनालाई पुरस्कृत समेत गरिएको छ ।

संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो सम्मान यस पटक बुधबार काठमाडौंको जमलस्थित नाचघरमा आयोजना गरेको पुरस्कार प्रदान तथा दसैंको शुभकामना आदानप्रदान समारोहमा प्रदान गरेको हो । संघको आयोजनामा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले अग्रज संगीत श्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं अग्रज संगीतका शम्भुजीत बासकोटालाई नेपाली संगीत क्षेत्रमा साढे चार दशकदेखि विशिष्ट योगदान पु¥याएको भन्दै २५ हजार रुपैयाँ राशिसहितको ‘योदलाल समुन्द्रा बहुप्रतिभाशाली विशिष्ट सांगीतिक सम्मान–२०७५’ बाट सम्मान गरियो ।

अग्रज गीतकार रत्नशमशेर थापालाई करिब ६ दशकदेखि गीत लेखनमा निरन्तर योगदान पु¥याएको ठहरसहित संघका तर्फबाट २५ हजार रुपैयाँ राशिसहितको ‘प्रदीप रिमाल विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मानित गरियो ।

यस्तै, वरिष्ठ कलासाधक भोला जोशीलाई पाँच दशकदेखि नेपाली संगीतमा निरन्तर योगदान दिएको ठहर गर्दै २५ हजार रुपैयाँ राशिसहित ‘पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मान गरियो ।

यस्तै, संगीत अन्वेषक तथा संगीतकार बुलु मुकारुङलाई चार दशकभन्दा लामो समयदेखि संगीत सिर्जना र अन्वेषणमा योगदान दिएको भन्दै २५ हजार रुपैयाँसहित ‘शिवशंकर मानन्धर विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मानित गरियो ।

यस्तै, गायक आनन्द कार्कीलाई पनि चार दशकदेखि गजल तथा आधुनिक गायनमा निरन्तर योगदान दिएका २५ हजार रुपैयाँ सहितको ‘फत्तेमान राजभण्डारी विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मानित गरियो ।

अग्रज नृत्य निर्देशक बेदु गुरुङलाई चार दशकभन्दा लामो समयदेखि नृत्य क्षेत्रमा योगदान पु¥याएको भन्दै २५ हजार रुपैयाँसहितको ‘नेपाल सांगीतिक विशिष्ट सम्मान–२०७५’बाट सम्मानित गरियो ।

अग्रज गायक कमल क्षत्रीलाई पाँच दशकदेखि नै गायनमा निरन्तर सक्रिय रहेको भन्दै १५ हजार रुपैयाँसहितको ‘मधुबाबु थापा विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मानित गरियो । सोही कार्यक्रममा पत्रकार अनन्त वाग्लेलाई १० हजार रुपैयाँसहितको ‘कला पत्रकार सांगीतिक राष्ट्रिय पुरस्कार–२०७५’बाट पुरस्कृत गरियो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रममा स्वागत गर्दै सम्बोधन गर्दै अब संगीत अध्ययनका लागि विश्व विद्यालय हुनुपर्ने बताए । उनले हरेक सरकारी विद्यालयमा एक जना संगीत शिक्षक अनिवार्य हुनुपर्ने आवाज उठाए ।
कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संगीत श्रष्टाहरूको कला प्रस्तुतिका लागि सुविधा सम्पन्न प्रस्तुति हल निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिए । उनले संगीत विश्वविद्यालयको अवधारणा अघि बढिसकेको बताउँदै यसलाई पनि यही सरकारले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

सम्मानित श्रष्टा एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटाले नेपाली श्रष्टाहरूको सिर्जनालाई जोगाउन राष्ट्रिय म्युजिक संग्रहालय अपरिहार्य रहेको बताए । उनले यो सम्मानले आफूलाई संगीतमा लाग्न अझ प्रोत्साहित गरेको विचार व्यक्त गरे ।

नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले सम्मानित श्रष्टाहरूको बारेमा प्रकाश पारेका थिए ।