रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

बुधबारदेखि मुलुकभरका सिनेमा हलमा एकसाथ प्रदर्शन गरिएको छक्का पञ्जा ३ प्राय सबैजसो हलमा हाउसफुल छ । आफ्नो चलचित्र अहिलेसम्मकै सबै भन्दा बढी हल प्रदर्शनका लागि आफुहरुले पाएको र बिहिबार बिहान पनि प्राय शोहरु हाउसफुल भएको यसकी निर्माता, निर्देशक दीपाश्री निरौलाले बताएकी छिन् ।

छक्का पञ्जा ३ मुलुकका १४० ओटा सिनेमा हलबाट प्रदर्शनमा आएको छ । फिल्मको व्यापार बारे दीपाले भनिन,‘काठमाडौंका सबैजसो मल्टिप्लेक्समा बिहिबार बिहानबाटै हाउसफुल छ । काठमाडौं र मोफसलका हलमा पनि हाउसफुल भएको खबर आएको छ ।’

यस अघि बैदेशिक रोजगारीलाई कथा बनाएर चलचित्र छक्का पञ्जा र छक्का पञ्जा २ निर्माण गरिएको थियो । तर यसपटक त्यो विषयलाई छाडेर आफुहरुले शिक्षा क्षेत्रका विविध समस्यालाई उठाएइको पनि निर्देशक दीपाश्रीले बताईन् ।

यो चलचित्रका निर्माता एवम् अभिनेता दीपकराज गिरीका अनुसार यसपटक पनि उनी यो चलचित्रमा राजाकै भूमिकामा छन् । तर विगतका राजाहरु भन्दा आफ्नो यसपटकको भूमिका केही फरक रहेको उनले बताए,‘छक्का पञ्जा ३ मा पनि म राजाकै भूमिकामा छु । दर्शकहरुले छक्का पञ्जा ३ लाई पनि त्यत्तिकै मन पराईदिनु भएकोमा हामी खुसी छौं ।’

यो चलचित्रमा दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ । छक्का पञ्जा ३ लाई दीपक, दीपा, जितुसँगै पुरुषोत्तम प्रधान, सुमन गिरी भान्जा, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाईं, केशव न्यौपाने, दीपेन्द्र खनियाँलगायतको लगानी छ ।

यो चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, नीर शाह, किरण केसी, बुद्धी तामाङ, जयनन्द लामा, विल्सन बिक्रम राई, लक्ष्मी गिरी, रमेश रञ्जन झा, यमन श्रेष्ठ, संजोग कोईराला, बिमला गिरी, बसन्त भट्ट, श्याम राई, अनुराग कुँवर लगायतको अभिनय छ ।