सुगममा कर्मा र दुर्गा सर्वोत्कृष्ट, प्रकाशलाई इमेज लाईफ टाईम एचिभमेन्ट


व्युटी न्युज नेपाल
काठमाडौं २० असोज

२०औं संस्करणको टुबोर्ग इमेज अवार्ड शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ । विभिन्न १८ विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड काठमाडौंका सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको हो । निकै भव्यताका साथ आयोजना गरिएको अवार्ड समारोहमा नेपाली संगीत क्षेत्रको उपस्थित लोभलाग्दो थियो ।

समारोहमा सबै प्रतियोगीलाई उछिन्दै गायक कमल खत्रीले ‘जाउँला रेलैमा…’ गीतबाट वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड चुमे । सुगम संगीत तर्फ नै सर्वोत्कृष्ट संगीतको अवार्ड पनि ‘जाउँला रेलैमा…’ बाटै संगीतकार कमल खत्रीले प्राप्त गर्न सफल भए ।

सुगम संगीततर्फ सर्वोत्कृष्ट गायन पुरुषतर्फको अवार्ड ‘जाउ तिमी…’ गीतबाट गायक कर्मा ग्याल्जेन बोमजनले जिते । यस्तै सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड ‘बन फूल…’ गीतकी गायिका दुर्गा परियारले हाँसिल गरिन् ।

सर्वोत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘यो ऐना भनाउँदो…’ गीतका रचनाकार आनन्द अधिकारीले जितेका छन् । सर्वोत्कृष्ट समूह वा युगलगायन विधाको अवार्ड ‘हावा घरैमा…’ गीतबाट पूजन लोहागन र अनुपमा प्रधानले हाँसिल गरे ।

यस्तै सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘छामी हेरन…’ बोलको गीतका गायक सुवासचन्द्र जोशीले प्राप्त गरे ।

सर्वोत्कृष्ट पप गायन पुरुषतर्फको अवार्ड ‘मन मगन…’ गीतबाट दीपक बज्राचार्यले जिते । सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा पनि ‘मन मगन…’ बाटै दीपक बज्राचार्य अवार्ड हाँसिल गरे । सर्वोत्कृष्ट पप गायन महिलातर्फको अवार्ड ‘मनचरी…’ गीतबाट गायिका श्रेया सोताङले आफ्नो पोल्टामा पारिन् ।

लोक दोहोरी तर्फ ‘नौलाई सून्य नब्बे…’ गीतबाट रुपकुमार राई पुरुष गायन र मेनुका राई महिला गायनको अवार्ड प्राप्त गर्न सफल भए । सर्वोत्कृष्ट गायन लोकगीतको अवार्ड ‘दुई रुपैयाँको बिँडी..’ गीतकी गायिका सीता थापाले जितिन् ।

सर्वोत्कृष्ट लोकगीत संकलकको अवार्ड ‘बोल माया…’ गीतका संकलक प्रकाश सपुतले हाँसिल गरे । समारोहमा सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड पशुपति शर्मा र सम्झना भण्डारीले ‘छिनछिन बज्ने चुरा…’बाट प्राप्त गरे ।

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारको अवार्ड ‘तिमीलाई छुँदै…’ गीतका बुद्ध थापाले, सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकको अवार्ड सोही गीतको भिडियोबाट विकास धमलाले प्राप्त गरे । सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक अवार्ड बिजेता बन्न ‘डोन्ट किलमी…’ को भिडियोबाट निशान घिमिरे सफल भए ।

टुबोर्ग पब्लिक च्वाइस अवार्ड गायिका टीका प्रसाइँले ‘माया लुकी लुकी…’ गीतबाट प्राप्त गरिन् ।

समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई सम्मानित गरियो ।

यस्तै ऊर्जाको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपालाई लोडसेडिङबाट मुक्त गराउन अहम भूमिका खेलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आर के मानन्धरले नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन गर्न सुरु गरिएको यो अवार्ड दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण २० औं संस्करणसम्म आईपुगेको बताए ।

कार्यक्रममा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरुमध्येबाट १८ओटा विधाका उत्कृष्ट स्रस्टाहरुलाई अवार्ड प्रदान गरिएको हो ।