ऐनापछि जोशीले ल्याए शखी


व्युटी न्युज नेपाल
काठमाडौं, २० असोज

कथासँग्रह ऐनाबाट मदन पुरस्कार जितेका लेखक रामलाल जोशीले पहिलो उपन्यास सखी ल्याएका छन् । उनको यो उपन्यासको शनिवार काठमाडौँमा एक समारोहबीच बिमोचन गरिएको छ । साहित्यकार रामलाल जोशीको यो तेस्रो कृति हो । पुस्तक बुक हिल पब्लिकेसनले प्रकाशन गरेको छ ।

विमोचन कार्यक्रममा साहित्यकार सरुभक्तले भने,‘लामो समयसम्म राज्य र शासक समूहबाट मानव सरह नै नठानिएका थारुजातिको कथा ल्याएर जोशीले नेपाली साहित्यमा योगदान गरेका छन् । यो उपन्यासले सिमान्तकृत थारु जातीको जीवनको अभिलेखीकरण गरेको छ ।’

उपन्यासकार बुद्धिसागरले उपन्यासमाथी टिप्पणी गर्दै सखीले सुदुर पश्चिमका थारु जातिको सिंगो कथा उतारेको धारणा राखे । पुस्तकमा पहाडबाट तराई झरेर त्यहाँको रैथाने समुदायसँग घुलमिल भएको युवकको कथा समेटिएको उनले बताए ।

अर्का वक्ता समिक्षक राम लोहनीले उपन्यासको भाषाशैलीको तारिफ गरे । यो उपन्यास भाषिक दृष्टिकोणले अब्बल कृति भएको उनले बताए । यसका धेरै वाक्य अब सामाजिक सञ्जालका स्टाटस बन्ने पनि उनले बताए ।

समीक्षक एवं कथाकार अर्चना थापाले कम्लहरी प्रथाको सुक्ष्म चित्रण उपन्यासले गरेको टिप्पणी गरिन् । नेपाली साहित्यमा अहिलेसम्म आइरहेको भन्दा फरक परिवेशको कथा प्रस्तुत गरिएको उनले बताइन् ।

उपन्यासकार जोशीले आफ्नो साहित्य यात्राको चर्चा गर्दै थारु समाजको वास्तविक चित्रण गर्ने प्रयास गरेको जानकारी गराए ।