दशैंको ‘ड्रिम गर्ल’ अब ७ मँसिरमा, यस्तो छ ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौ, १६ असोज

चलचित्र ड्रिम गर्ल अब दशैंमा नआउने भएको छ । मँगलबार काठमाडौंमा यसको ट्रेलर रिलिज गर्दै यो चलचित्रको नयाँ रिलिज मिति घोषणा गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको यो फिल्म अब ७ मंसिरमा रिलिज हुने छ । यसकोे मंगलबार राजधानीमा प्रेसमिट गरि ट्रेलर देखाइएको हो ।

दुई करोड भन्दा बढी लगानीमा बनेको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । फिल्मको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, एक्शन र सेन्टिमेन्ट्स मिश्रण छ ।

सो कार्यक्रममा बोल्दै अभिनेता आकाश श्रेष्ठले ड्रिम गर्ल आफ्ना बिगतका फिल्मभन्दा भिन्न भएकाले दर्शकले मन पराउने बताए । यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरीले ठूलो पर्दाको आफ्नो पहिलो पाइला सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । अर्की अभिनेत्री पूजा पराजुलीले फिल्मले दर्शकलाई खुशी बनाउनुका साथै आफ्नो कामको मुल्यांकन गर्ने आश ब्यक्त गरिन् ।

निर्माता अर्जुन शर्माले आफूहरुले अधिक राम्रो फिल्म बनाएकाले सबैको साथ पाउने बिश्वास ब्यक्त गरे । निर्देशक ऋषिराज स्वयम्, अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।

कार्यक्रममा बोल्दै रिल एण्ड रियल सिनेमाका प्रमुख एन्टो रोचाले नेपाली फिल्म निर्माणलाई निरन्तरता दिने बताए ।
सोही कार्यक्रममा ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुईटा फिल्म–चुरीफुरी र द्रौपदीको समेत घोषणा गरियो । ड्रिम गर्ल प्रदर्शनपछि ती फिल्म निर्माण गरिने ऋषिराजले जनाए ।