व्युटी न्युज नेपाल 

काठमाडौं, १४ असोज

अभिनेत्री रेखा थापा यसपटक पनि चलचित्रमा आफैं नायकको रुपमा आएकी छिन् । नारी प्रधान चलचित्र निर्माण गर्दै आएकी रेखाका सिनेमामा प्राय उनी आफैं हिरोको रुपमा प्रस्तुत हुने गरेकी छिन् ।

आगामी १६ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘मालिका’मा पनि उनी आफैं हिरोको रुपमा छिन् । यो फिल्मको निर्माता र निर्देशक पनि उनी आफैं हुन् । यो फिल्ममा कुनै नाम चलेको अभिनेतालाई उनले नायकको भूमिकामा राखेकी छैनन् ।

तीन दिन अघि ट्रेलर रिलिज गरिएको यो फिल्मको ट्रेलरमा कतै पनि पुरुष नायक देखाईएको छैन । मालिका यादबको रुपमा घरेलु हिंसा सहनु परेपछि उनी घर छाडेर हिंसा पीडित किशोरी तथा महिलाहरुको ससक्तिकरणमा लागेकी छिन् ।

बाल विवाह पीडित बनेकी कमला ओली र उनीजस्ता अरु युवतीहरुले उद्धार गरेर यस्ता किशोरीहरुलाई ससक्तिकरणमा उनले उतारेको ट्रेलरमा उल्लेख छ ।

यो फिल्मको ट्रेलर अहिले रुचाईएको छ । दुई दिनमै यो फिल्मको ट्रेलर २ लाख ३५ हजारले हेरिसकेका छन् । उनलाई हिरोको रुपमा देख्न पाउँदा खुसी लागेको र आफु यो फिल्म हेर्न आतुर रहेको प्रतिक्रियाहरु ट्रेलरमा दर्शकले दिएका छन् ।