रिलिज सिनेमा

व्युटी न्युज नेपाल
काठमाडौं १२ असोज

दशैं नजिकिँदै गर्दा एक साथ मुलुक भरका सिनेमा हलमा शुक्रबारबाट तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । यो साता कुनै चाडपर्व नहुँदा पनि तीन सिनेमा जुधेका हुन् ।
यसरी जुधेका चलचित्रमा संगीता श्रेष्ठ निर्देशित ‘कथा काठमाण्डु’, गायक यस कुमार निर्देशित ‘छिरिङ’ र सत्यराज चौलागाईं निर्देशित ‘अनुराग’ रहेका छन् ।

कथा काठमाण्डुले देशभरका पाँच दर्जन भन्दा बढी सिनेमा हल पाएको यसको निर्देशक संगीता श्रेष्ठले बताईन् ।

यो चलचित्रमा राखिएको प्रियँका कार्की र प्रमोद अग्रहरीको हट सिनेका कारण कथा काठमाण्डू बिबादमा मुछिन पुग्यो । यद्यपि सेन्सरबाट पिजी सर्टिफिकेट पाएको यो चलचित्रमा काठमाडौं बस्ने व्यक्तिहरुको तीन फरक फरक कथा रहेको निर्देशक संगीताले बताईन् ।

विजय राई निर्मित कथा काठमाण्डुमा प्रियँका कार्की, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारीलगायतको अभिनय छ । अष्ट महर्जनको द्वन्द्व, लुजः सिंको छायांकन र मित्र गुरुङको सम्पादन रहेको यो चलचित्रमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरजविक्रम थापाको संगीत छ ।

यस्तै शुक्रबारबाटै मुलुकका पाँच दर्जन भन्दा बढी सिनेमा हलमा अर्को चलचित्र छिरिङ रिलिज भएको छ । यो चलचित्रको बिहिबार बेलुका काठमाडौंको जय नेपाल हलमा रेड कार्पेट प्रिमियर गरियो । मुस्ताङको आकर्षक दृष्य समेटिएको छिरिङले प्रिमियर शोमा दर्शकको प्रसँसा पायो ।

छिरिङमा निर्माता निर्देशक यस कुमार सहित निमा रुम्बा, कामना भुजेल, राजेन्द्र गुरुङ, कालु रानालगायतको अभिनय छ । यो चलचित्र आईबी दर्नाल, सुनिल माथेमा प्रधान, नवीन बुढाथोकी र टेकबहादुर गुरुङ मिलेर निर्माण गरेका हुन् ।

यस चलचित्रमा सविर श्रेष्ठको कथा, यस कुमार र यम थापाको पटकथा संवाद, स्व. अम्बर गुरुङ, प्रकाश गुरुङ र यस कुमारको संगीत, कविराज गहतराज र गोविन्द प्रभातको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायांकन र मिलन श्रेष्ठ एवं साहिल खानको सम्पादन छ । चलचित्र छिरिङ बहुपति प्रथामा आधारित रहेको निर्देशक यस कुमारले जानकारी गराएका छन् ।

देशव्यापी रुपमा शुक्रबारबाट प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘अनुराग’ हो । यसलाई पत्रकार ऋषी धमला, भरत गौतम र गीता भेटवालले निर्माण गरेका हुन् । सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रका निर्देशक सत्यराज चौलागाईं हुन् ।

यो सिनेमामा एलिजा गौतम, समुद्रराज पण्डित, सरोज खनाल, रूपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणालगायतको मुख्य भूमिका छ । अनुरागमा कथा किरण ढकालले, पटकथा र संवाद पनि चौलागाईंले लेखेका हुन् । आफ्नो चलचित्र सांगीतिक प्रेमकथामा आधारित रहेको यसका निर्देशक सत्यराजले जानकारी गराए ।

यसरी एक साथ आएका यी तीन चलचित्र मध्य कसले बाजी मार्छ । त्यो भने हेर्न बाँकी छ ।