सँगै आउँदै कथा काठमाडौं, अनुराग र छिरिङ, कसले मार्ला बाजी ?


व्युटी न्युज नेपाल
काठमाडौं १० असोज

यही १२ असोजबाट तीन ओटा सिनेमा प्रदर्शनमा आउने भएका छन् । अघिल्लो हप्ता रिलिज भएका मध्य चलचित्र इन्टु मिन्टु लन्डनले राम्रो व्यापार गरिरहेकै बेला तीन नयाँ फिल्म थपिएका हुन् । दशैं नजिकिँदै छ । दर्शकहरु किनमेलमा व्यस्त हुन थालेका छन् । सोही कारण पनि अबको दुई साता सिनेमाको लागि मन्दी समय मानिन्छ । तथापि एकसाथ तीन सिनेमा यो तिथिमा जुध्दै छन् ।

यी तीन मध्य संगीता श्रेष्ठ निर्देशित फिल्म ‘कथा काठमाडौं’ लाईफ स्टाईल र क्राईम जनरामा बनेको छ । यस्तै सत्यराज चौलागाई निर्देशित चलचित्र ‘अनुराग’ म्युजिकल लभस्टोरी जनरामा निर्माण गरिएको छ । यस कुमार निर्देशित चलचित्र ‘छिरिङ’ फेमिली ड्रामामा आधारित छ ।

यसरी यी तीन ओटै फिल्म फरक फरक स्वादका छन् । यौनजन्य भिडियोका कारण चलचित्र कथा काठमाडौंको चर्चा चुलिएको छ । यो चलचित्रमा प्रियँका कार्की, प्रमोद अग्रहरी, अयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोईरालासहितको अभिनय छ । यो सिनेमाले मुलुकका धेरै जसो सिनेमा हल कव्जा गर्ने देखिएको छ ।

शुक्रबारबाटै देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’मा एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, राजाराम पौडेल, रुपा राना, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौलालगायतकासहितको मुख्य भूमिका छ । पत्रकार ऋषीराज धमालसहितले निर्माण गरेको यो फिल्म पनि सफल हुनेमा उनी निर्धक्क छन् ।

गायक यसकुमारले निर्देशन गरेको फिल्म ‘छिरिङ’ प्रचारको हिसावले पछि परे पनि यसको ट्रेलर र गीत अहिले चर्चामा छ । यो सिनेमा पनि बाँकी दुईसँगै रिलिज हुने सिनेमाहरुका लागि चुनौती बन्ने देखिन्छ । यसमा यसकुमारसँगै निमा रुम्बा, कामना भुजेल लगायत मुख्य भूमिकामा छन् । यसका निर्देशक यसकुमार पनि आफुले फिल्म राम्रो बनाएकाले दर्शकले यसलाई मन पराउनेमा विश्वस्त छु भन्छन् ।