टुँडिखेल र सोल्टी थर्काउँदै शम्भुजीत


व्युटी न्युज नेपाल
काठमाडौं,९ असोज

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यही १३ असोजमा काठमाडौंको टुँडिखेल र १४ असोजमा काठमाडौंकै सोल्टी होटल थर्काउने भएका छन् । यी दुबै ठाउँमा हुने ‘शम्भुजीत स्वर्णिम सांगीतिक यात्रा–२०१८’मा आफ्नो गीतसँगीतबाट उनले यी ठाउँ थर्काउन लागेका हुन् ।

यो सांगीतिक यात्राको तयारी भईरहेको मँगलबार काठमाडौंमा पत्रकार भेटघाटमा बरिष्ट संगीतकार बासकोटाले बताए । आफ्नो यो स्वर्णिंम साँझको बारेमा जानकारी दिँदै उनले यो ऐतिहाँसिक कार्यक्रम हुने जिकिर गरे । साधना कला केन्द्रको आयोजनामा हुने यो स्वर्णिम सांगीतिक साँझ काठमाडौंका टुँडिखेलमा १३ असोजमा हुने छ । दिउँसोबाट सुरु हुने यो कार्यक्रममा सबैलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको बासकोटाले बताए ।

टुँडिखेलको कार्यक्रममा बासकोटा सहित प्रेमध्वज प्रधान, योगेश बैद्य, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, अनन्द कार्की जस्ता अघिल्ला पुस्ताका कलाकारले एक देखि तीन ओटासम्म बाँसकोटाको सँगीतमा रेकर्ड भएका आफ्ना गीत गाउने छन् । यस्तै यम बराल, राजेश पायल राई, अमर तण्डुकार, देविका बन्दना, कर्णदास, मनोज राज, प्रमोद खरेल, निशा देशार, टीका प्रसाईं, विश्व नेपाली, सञ्जय तुम्रुक, बानिका प्रधान, मिना निरौला, सुरेश लामा, सुरजकुमार थापा, स्मिता दाहाल, युवराज चौलागाई, केञ्जल मेहरले चर्चित गीतहरु प्रस्तुत गर्नेछन् ।

२२ जना प्रत्यक्ष बाद्यबादकहरुको बाद्यबादनमा यी आफुसहित यी कलाकारले आफ्ना गीत गाउने र कार्यक्रम करिब चार घन्टासम्म सँगीतमय हुने गायक एवम् संगीतकार बासकोटाले बताए । कलाकारले करिब चार दर्जन गीतहरु सुनाउने छन् ।

यस्तै १४ असोज साँझ साँढे ५ बजेबाट काठमाडौंको सोल्टी होटलमा पनि यही कार्यक्रम आयोजना गरिने छ । रात्री खानासहित आयोजना हुने यो कार्यक्रममा भारतीय गायिका अनुराधा पौडवाल, संजीवनी सहित नेपाली गायिका दीपानारायण झाले पनि शम्भुजीत बासकोटाद्धारा स्वरवद्ध आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् ।

टुँडिखेलमा आउन समय नभएका विशेष दर्शक श्रोताका लागि ५ हजार रुपैयाँ टिकट सहितको यो कार्यक्रम सोल्टीमा आयोजना गरिएको पनि बासकोटाले जानकारी गराए ।

कार्यक्रमका आयोजक एवम् साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानका अनुसार यो यात्रा काठमाडौंबाट सुरु भएर दुई वर्ष भित्र विश्वका दुई दर्जन भन्दा बढी देशमा आयोजना गरिने छ । नेपाली संगीतमा बासकोटाको ४ दशक पुरा भएको अबसरमा यो शम्भुजीत स्वर्णिम सांगीतिक यात्रा आयोजना गर्न लागिएको पनि उनले बताए ।