मिल्यो बिबाद, चलचित्र जय भोले फुलपातिबाट हलमा,


व्युृटी न्युज नेपाल
काठमाडौं, ९ असोज

चलचित्र ‘जय भोले’ यही दशैंको शुभ अबसरमा ३० असोज फुलपातिबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । यसपालीको दशैं जय भोलेसँगै भन्ने नारा सहित यो सिनेमा फुलपातिबाट रिलिज हुन लागेको हो ।

दशैंमा दुई चलचित्र जय भोले र छक्का पञ्जा ३ जुध्ने चर्चा चलिरहेको बेला आपसमा जुध्दा दुबैलाई राम्रो नहुने भएकाले आफुहरुले दर्शकहरुको चाहना अनुसार ३० असोज फुलपातिमै जय भोले रिलिज गर्न लागिएको यसका निर्माता निर्देशक अशोक शर्माले बताए ।

शर्माका अनुसार जय भोले दशैंमा रिलिज गर्न काठमाडौं र मोफसलका बहुसँख्यक सिनमा हलसँग आपसी सम्झौता भएको छ । सो सम्झौता बमोजिम सम्बन्धित सिनेमा हलहरुले ३० असोज फुलपातिमा जय भोले नै प्रदर्शन गर्ने सल्लाह हल सञ्चालकबाट प्राप्त भएपछि आफुले सो मितिमा चलचित्र ल्याउन लागेको पनि निर्माता निर्देशक शर्माले बताए ।

‘मुख्य दशैं फुलपातिबाट सुरु हुने भएकाले दशैंका शुभकामना स्वरुप दर्शकहरुमाफ हामीले यसपटक जय भोले ल्याउन लागेका हौं ।’ निर्देशक शर्माले भने,‘दीपक राज गिरी र मेरो आपसी सहमती मै फुलपातिमा जय भोले एकल प्रदर्शन हुन लागेको हो । सोही कारण उहाँहरु एक साता अघि घटस्थपनामै आउनु भएको हो ।’

यो चलचित्रमा खगेन्द्रसँगै सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द चन्द, रामचन्द्र अधिकारीलगायतले मुख्य भूमिका रहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् ।

चलचित्र जय भोले सामाजिक कथामा आधारित हास्य प्रधान चलचित्र बनेको छ । विगतको भन्दा यसपटक खगेन्द्र लामिछानेलाई यो चलचित्रमा पृथक भूमिकामा उतारेको यसका निर्देशक एवं निर्माता अशोक शर्माले बताएका छन् । शर्मा एक दशकपछि चलचित्र निर्माणमा फर्किएका हुन् । नेपाली सिनेमाको बजार राम्रो भएका कारण आफु निर्माता निर्देशनमा फेरी फर्किएको उनले बताएका छन् ।