१३ पुषमा बादशाह जुट, सकियो सुटिङ


व्युटी न्युज नेपाल
काठमाडौं ९ असोज

चलचित्र बादशाह जुट आगामी १३ पुषबाट देशव्यापी रिलिज गरिने भएको छ ।

सोमबार यो चलचित्रको छायाँकन सक्दै इण्ड क्ल्याप गरियो । ललितपुरको श्रीकाली चौरमा बादशाह जुटमा समावेश लोक शैलीको गीतको छायांकनसँगै सिनेमाको इण्डक्ल्याप गरिएको हो ।

सिनेकाको इण्डक्ल्यापसँगै रिलिज मिति पनि फाइनल गरिएको छ । अब यो सिनेमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट अल नेपाल रिलिज हुने निर्माण पक्षको भनाई छ ।

निर्देशक जोनी सिंह राणाका अनुसार १० वैशाखबाट छायांकन सुरु गरिएको थियो । सिनेमाको छायांकन सुरु भएको लामो समय भए पनि छायांकनका लागी ६० दिन मात्रै क्यामेरा अन गरिएको उनले बताए ।

सिनेमाका निमार्ता भोजराज श्रेष्ठले दुई राजाको कथामा निमार्ण भएकोले बादशाह जुट नाम राखिएको बताए । छायांकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको भन्दै सिनेमा राम्रो बनेको जिकिर गरे ।

यो चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका छ । जसमा अभिनेत्री प्रियंका कार्की विषेश भुमिकामा छिन् ।

यो सिनेमामा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, विक्रम स्वाँरको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । एच एण्ड बि फिल्मस् प्रा.ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.ली.को संयुक्त व्यानरमा यो फिल्म निर्माण भएको हो ।