निशा, जुगल र हेमन्तको सांगीतिक अन्तरा


व्युटी न्युज नेपाल
काठमाडौं ७ असोज

गायिका निशा देशारको एकल स्वर, संगीतकार जुगल डंगोलको एकल संगीत र गीतकार हेमन्त ओली शब्दमा गीतिसंग्रह ‘अन्तरा’ स्रोतामाझ आएको छ ।

शनिबार काठमाडौंको नाचघरमा एक समारोहबीच यी तीन श्रष्टाको यो गीतिसंग्रह बिमोचन भयो । अग्रज गायक प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभ श्रेष्ठ, बिन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मी, यो संग्रहका संगीतकार जुगल, गायिका निशा, गीतकार हेमन्तले संयुक्त विमोचन गरे ।

कार्यक्रममा अग्रज गायक प्रेमध्वज प्रधानले गीतहरु सबै कर्णप्रिय बनेको बताए । संगीतकार जुगल डंगोलले यो संग्रहका गीतलाई मौलिक बनाएको पनि उनले बताए ।

संगीतकार शक्ति बल्लभले आफू गजल तथा आधुनिक संगीत प्रेमी भएको र अन्तराभित्र सबै यस्तै प्रकारका गीत रहेकाले आफूलाई साह्रै मन परेको बताए । उनले शब्द, संगीत र स्वर तीनवटै यसमा सशक्त बनेको बताए ।

संगीतकार जुगल डंगोलले नेपाली मौलिक संगीत हराउँदै आएकाले मौलिक शैलीको आधुनिक संगीत आफूले यसमा सिर्जना गरेको प्रस्ट्याए ।
कार्यक्रममा विन्ध्यवासिनी म्युजिकका सुवास रेग्मीले अहिलेको संगीत क्षेत्रको समस्याबारे प्रकाश पारे ।

गीतकार हेमन्त ओलीले आफ्नो पहिलो एकल गीतिसंग्रह भएको जानकारी गराए । गायिका निशाले संग्रहका गीतबारे थप प्रकाश पारिन् ।

गायिका निशाले विमोचन कार्यक्रममा संग्रहको जलाएर मुटु…सहित पाँचवटै गीत प्रत्यक्ष गाएर सुनाइन् ।