छक्का पञ्जा ३ ले तोक्यो तिथि, जय भोलेले भोली तोक्ने


व्युटी न्युज नेपाल
काठमाडौं ६ असोज

चलचित्र छक्का पञ्जा ३ र जय भोले एकै दिन प्रदर्शनमा आउने तयारी हुँदै थियो । सोही कारण यी दुई चलचित्रले दशैंमा रिलिज गर्ने बताउँदै आए पनि प्रदर्शन दिन तोक्न सकेका थिएनन् ।

शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै ट्रेलर रिलिज समारोहमा चलचित्र छक्का पञ्जा–३ ले यो चलचित्र आगामी घटस्थापनाको दिन २४ असोजमा रिलिजको मिति घोषणा गरेको छ ।

यता चलचित्र जय भोलेले रिलिज मिति तोकेको छैन । ट्रेलर रिलिज समारोहमा छक्का पञ्जा ३ का निर्माता अभिनेता दीपकराज गिरीले भने,‘अशोक शर्मा दाईले जय भोले फुलपातिमा र हामीले घटस्थापनामा ल्याउने सहमति भएपछि हामीले २४ असोजको मिति फाईलन गरेका हौं । आपसमा जुध्दा दुबैलाई घाटा हुने भएपछि हामीले एक साता अघिपछि आउने निस्कर्ष निकालेका हौं ।’

यसै बिषयमा जय भोलेका निर्माता निर्देशक अशोक शर्माले व्युटी न्युज नेपालसँग कुरा गर्दै भने,‘दीपकजीले हिजो यो प्रस्ताव ल्याउनु भएको हो तर हामीबीच त्यस्तो कुनै सम्झौता भएको छैन । हामी आज जय भोलेको टिम र हल सञ्चालकहरुसँग सल्लाह गरेर आईतबार पोष्टर रिलिजसँगै हाम्रो चलचित्रको रिलिज मिति तय गर्नेछौं ।’

जय भोलेको टिमले तय गरेको मितिमा मात्र आउने भएकाले अहिले नै यही दिन जय भोले आउँछ भनेर घोषणा गर्ने अबस्था नरहेको पनि निर्माता निर्देशक शर्माले बताए ।

यसरी ट्रेलर रिलिज समारोहमा छक्का पञ्जा ३ का निर्माता अभिनेता दीपकराज गिरीले आफुहरुबीच फिल्म रिलिजको तिथिबारे सम्झौता भईसकेको बताए । आफुहरुले घटस्थापनामा रिलिज गरेको छक्का पञ्जा ३ राम्रोसँग प्रदर्शनी भईरहेको अबस्थामा फुलपातिमा हल सञ्चालकले पक्कै हटाउने छैनन भन्ने विश्वास लिएको बताए । तर त्यो अधिकार हल सञ्चालकलाई दिएको पनि उनले बताए ।

काठमाडौं र मोफसलका मुख्य हल सञ्चालक र निर्माता निर्देशक अशोक शर्माबीच दशैंमा जय भोले रिलिज गर्ने लिखित सम्झौता भईसकेको छ । त्यो भद्र सम्झौतालाई हल सञ्चालकहरुले भँग गर्नु हुन्न भन्ने विश्वास आफुले लिएको पनि निर्माता शर्माले बताएका छन् ।

यता चलचित्रबृत्तमा यी दुबै चलचित्र एक हप्ता अघि पछि आएको राम्रो भन्ने सुझाब आईरहेको छ । यो सुझाब कार्यन्वयन हुने विश्वास गरौं ।