भिडियोमा केशुको बुकी फूल


व्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

गायिका केशु गुरुङ र गायक दुर्गा गुरुङको स्वर रहेको कौरा गीत ‘बुकी फूल…’ को भिडियो राजधानीमा मंगलबार आयोजित एक समारोहबीच रिलिज गरिएको छ ।

अग्रज लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी, पत्रकार विदुर गिरीलगायतले भिडियो सार्वजनिक गरे । सार्वजनिक गीतमा शब्द गायक तथा संगीतकार रेशम गुरुङ र गायिका केशु गुरुङकै रहेको छ । लय रेशम गुरुङको रहेको यो गीतको भिडियोलाई तनहुँको बन्दिपुरस्थित धरमपानीमा छायांकन गरिएको हो ।

गीत तथा भिडियो सार्वजनिक गरेपछि गायिका केशुले भनिन्, ‘यस गीतमार्फत सकरात्मक अपेक्षा गरेकी छु ।’ स्वास्थ्यकर्मीसमेत रहेकी गायिका केशुले आफ्नो गुरुङ कला, संस्कृति र पहिचानका लागि कौरा गाउँदै आएको बताइन् । उनले भनिन्, ‘गायन मेरो सौख र रुचिको कुरा हो । त्यसैले रहर र सौख पूरा गर्न आफ्नो संस्कृतिलाई अँगालेकी छु ।’

कार्यक्रममा गायक दुर्गा गुरुङ, गीतकार तथा गायक रेशम गुरुङले सार्वजनिक गीतबारे आफ्नो धारणा राखेका थिए । सोही क्रममा गायक दुर्गाले भने, ‘आज सार्वजनिक कौराले गुरुङ समुदायको संस्कृति बोकेको छ ।’ कौरा गीत ‘बुकी फूल’का टीमलाई प्रमुख अतिथि गायक रायमाझीले शुभकामना दिए ।

सार्वजनिक गीतको भिडियोलाई पर्सन गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा गायिका केशु गुरुङ, विष्णु थापा, टेक गुरुङ, चाउ बि गुरुङ, टार्जन गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । भिडियोमा शक्ति प्रज्वल घिमिरेको छायांकन र सम्पादन छ ।