नयाँ मिस मंगोल जाङमु शेर्पा


व्युटी न्युज नेपाल
काठमाडौं, २ असोज

संखुवासभाकी जाङमु शेर्पाले मिस मंगोल नेपाल २०१८ को उपाधि जितेकी छन् । एक्सन इन्टरटेनमेन्टद्धारा राजधानीमा आयोजित मिस मंगोल नेपालको यो दसौं संस्करण हो । शेर्पा समुदायका प्रतियोगीले मिस मंगोल नेपालको उपाधि जितेको यो पहिलो पटक भएको आयोजक पक्षको भनाई छ ।

प्रतियोगितामा गोर्खाकी प्रीति गुरुङ र सोलुखुम्बुकी पुनम शेर्पा क्रमश फस्ट र सेकेन्ड रनरअप घोषित भए । मिस लिडरसिपसहित शिर्ष उपाधि चुमेकी जाङमु, फस्ट रनरअप प्रीति र सेकेन्ड रनरअप पुनमले थाइल्याण्डका लागि पाँच दिने प्याकेज टुरको अवसर प्राएका छन् ।

प्रतियोगितामा काठमाडौंकी इरोसा थापामगर मिस बेस्ट हेयर, बुटवलकी सुमी थापा मिस पर्सनालिटी, ललितपुरकी अस्मिता बज्राचार्य मिस ट्यालेन्ट, सुनसरीकी समिक्षा राई मिस पब्लिक च्वाइस र नुवाकोटकी रक्षा थिङ मिस फोटोजेनिक घोसित भए ।

प्रतियोगितामा चलचित्र निर्देशक उदय सुब्बा, संगीतकार शान्तिराम राई, अभिनेता एवम् मोडल फुपु तेन्जिङ शेर्पा, पूर्वमिस मंगोल डा. एनिस्ता गुरुङ, गायिका मेनुका राई, आइडियल इङलिस हाइस्कुलका निर्देशक पूर्ण लामा र शिक्षासेवी शिवहरी अधिकारी निर्णायक मण्डलमा थिए । गायक तथा संगीतकार टिका बोम्जन, हास्यकलाकार राजेन्द्र गिरी, नृत्यांगना रिद्धिमा राईले आआफ्नो रोमाञ्चक प्रस्तुती दिएका थिए । रीता राई दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।