बसुन्धरा र भुवन सम्मानित, सूर्य अवार्डमा अनमोल र साम्राज्ञी लोकप्रिय


व्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

सूर्य ईन्टरनेशनल अवार्ड–२०१८ मा विभिन्न १६ विधामा विभिन्न अवार्ड प्रदान गरिएको छ । लोकप्रियताको आधारमा ४ विधामा ४ ओटा अवार्ड पनि सो कार्यक्रममा प्रदान गरियो । आयोजक पक्षका अनुसरा आम लोकप्रियताको आधारमा लोकप्रिय अभिनेताको अवार्ड अनमोल केसीलाई, लोकप्रिय अभिनेत्रीको अवार्ड सम्राज्ञी राज्य लक्ष्मी शाहलाई, लोकप्रिय निर्देशकमा प्रदिप भट्टराई र लोकप्रिय फिल्ममा छक्का पञ्जा २ लाई प्रदान गरियो ।

पाँच दशकदेखि अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट कार्यक्रममा सम्मानित गरियो । यस्तै ४ दशकदेखी नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल रहँदै आएको भन्दै अभिनेता भुवन केसीलाई सूर्य कलाकरिता सम्मन–२०१८ प्रदान गरियो ।

जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा आईतबार सम्पन्न सो अवार्ड समारोह वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘म यस्तो गित गाउँछु’ लाई प्रदान गरियो । यही फिल्मका नायक नायिकालाई उत्कृष्ट नायक र उत्कृष्ट नायिकाको अवार्ड दिइयो । अभिनेत्री पुजा शर्माले म यस्तो गीत गाउँछुबाट उत्कृष्ट निर्मातसँगै उत्कृष्ट नायिकाको अवार्ड थापिन् । यस्तै उत्कृष्ट निर्देशकको अवार्ड पनि म यस्तो गित गाउँछुबाटै निर्देशक सुदर्शन थापालाई प्रदान गरियो ।

सूर्य अवार्डमा सह अभिनेता तर्फ ऐश्वर्यबाट प्रशान्त ताम्राकार र सह अभिनेत्री तर्फ छक्का पञ्जा २ बाट बर्षा राउतलाई अवार्ड प्रदान गरियो । आयोजकले यी अवार्डहरु भोटिङको आधारमा प्रदान गरिएको जानकारी गरायो । पत्रकार समिप्यराज तिमल्सेनालाई २५ हजार जापानिज येन सहित सूर्य चलचित्र पत्रकारिता पुरस्कार –२०१८ प्रदान गरियो । फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार जापानी येनसहित फोटो पत्रकारिता पुरस्कार प्रदान गरियो ।

अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगरलाई उत्कृष्ट गायक गायिकाको अवार्ड दिईयो । पपतर्फ कमल खत्री र इन्दीरा जोशीलाई उत्कृष्ट गायक र गायिकाको अवार्ड प्रदान गरियो । कार्यक्रममा आधुनिक गीततर्फ राजेश पायल राई र मेलिना राईलाई उत्कृष्ट गायक र गायिकाको अवार्ड प्रदान गरियो ।

अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । यस्तै जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढी दर्शकहरुको उपस्थित थियो ।
अवार्ड समारोहले नेपाली कला, संस्कृतिको संरक्षण तथा नेपाली फिल्म र गीत संगीतको प्रबर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् । अवार्ड समारोह पछि जापानमा निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताए ।