२४ विधामा एलजी सिने सर्कल अवार्ड, नाजिर र निता उत्कृष्ट


एलजी सिने सर्कल अवार्ड–२०७५’

व्युटी न्युज नेपाल
काठमाडौं, ३१ भाद्र

बलिउडका अभिनेता गोविन्दा आहुजाको विशेष आतिथ्यमा चलचित्रकर्मी दिनेश डिसीले तेस्रो संस्करणको ‘एलजी सिने सर्कल अवार्ड–२०७५’ सम्पन्न गरेका छन् ।

आईतबार अपरान्ह काठमाडौंको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड समारोहमा २०७४ सालमा रिलिज भएका चलचित्रबाट विभिन्न २४ विधामा सिनकर्मीले अवार्ड पाएका छन् ।

कृका अनमोल केसी, तान्द्रोका दयाहाङ राई, मँगलम्का पुष्पल खड्का, लिली विलीका प्रदीप खड्काई पछिपादै चलचित्र तिमी सँगबाट सहयोगी अभिनेता नाजिर हुसेनले यो अवार्ड समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड जिते ।

छक्का पञ्जा २, कृ, मँगलम्, भई मान्छे, लिली बिली, पञ्चायत जस्ता सिनेमालाई पछि पार्दै शिशिर राणाको फिल्म तिमी सँगले अवार्ड समारोहमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । यही चलचित्रबाट शिरिर राणा, शुशिल क्षत्री, सुमन उप्रेतीलगायतले उत्कृष्ट पटकथाको अवार्ड समेत प्राप्त गरे ।

यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘पञ्चायत’बाट अभिनेत्री निता ढुँगानाले जितिन् । वर्षको प्रसँसनीय चलचित्रको अवार्ड पनि चलचित्र पञ्चायतलाई नै प्रदान गरियो ।

उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘भुईँमान्छे’बाट नवराज बुढाथोकीले जिते । भुइँमान्छेबाटै उत्कृष्ट छायाँकारको अवार्ड बिदूर पाण्डेले प्राप्त गरे ।

दिनेश डिसी प्रोडक्सन र सिनेसर्कल नेपालले आयोजना गरेको यो अवार्डको निर्णायकमा पनि आयोजक दिनेश डिसी स्वयम् सहित पत्रकार कृष्ण भट्टराई र संगीतकार महेश खड्का थिए ।

पपुलर अभिनेताको अवार्ड चलचित्र ‘लिली विली’बाट प्रदीप खड्काले हाँसिल गरे । यस्तै पपुलर अभिनेत्रीको अवार्ड चलचित्र ‘शत्रुगते’बाट अभिनेत्री प्रियँका कार्कीले पाईन् ।

कार्यक्रममा क्रिटिक्स अवार्ड चलचित्र मँगलम्बाट अभिनेता पुष्पल खडेकालाई प्रदान गरियो । यस्तै पर्दाका उत्कृष्ट जोडीको अवार्ड चलचित्र ऐश्वर्याबाट अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपिका प्रसाईंको जोडीले पायो । यी दुईले प्रदीप खड्का र जसिता गुरुङ, साम्राज्ञी र नाजिर, नाजिर र केकीको जोडीलाई पर्दामा जितेर यो अवार्ड पाएका हुन् ।

संगीत तर्फको अवार्डमा उत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट भन्छु आज…गीतका लागि अर्जुन पोखरेलले पाए । चलचित्र गीत गायकको अवार्ड पनि यही भन्छु आज…बाटै सुगम पोखरेललाई र गायिकाको अवार्ड चलचित्र ‘२ रुपैयाँ’को कुटुमा कुटु गीतबाट मेलिनाई राईलाई प्रदान गरियो । उत्कृष्ट पाश्र्व संगीतको अवार्ड चलचित्र लिली बिलीबाट एलिश कार्कीलाई प्रदान गरियो ।

वर्षको सबैभन्दा लोकप्रिय गीतको अवार्ड पनि कुटुमा कुटु…बाट राजनराज सिवाकोटीले प्राप्त गरे । कविराज गहतराजले यही गीतको नृत्यबाट उत्कृष्ट कोरियोग्राफरको अवार्ड थापे ।

उत्कृष्ट सम्पादकको अवार्ड चलचित्र शत्रुगतेबाट मित्रदेव गुरुङले, उत्कृष्ट द्धन्द्ध निर्देशनको अवार्ड चलचित्र कृबाट चन्द्र पन्त र चलचित्र कृबाटै सुरेन्द्र पौडेलले वर्षको उत्कृष्ट ट्रेलरको अवार्ड हाता पारे ।

उत्कृष्ट पोष्टर डिजाईनको अवार्ड फिल्म शुत्र गतेको सिक्स सिटर पोष्टर डिजाईनबाट शान थापा र विजय बस्यालले पाए । यस्तै उत्कृष्ट इन्स्टन्टमेनको अवार्ड चलचित्र पिँजडा व्याक अगेनबाट कलाकार सिम्पसन तामाङले, उत्कष्ट भिएफएसको अवार्ड चलचित्र माई लभबाट जापानी नागरिक माओत्सुमु मिकामीले हाँसिल गरे ।

चलचित्र निर्देशक किशोर रानालाई कार्यक्रममा ५१ हजार रुपैयाँ सहितको लाईफ टाईभ एचिभमेन्ट अवार्डबाट सम्मान गरियो । मृगौला प्रत्यारोपनपछि हाल उपचारमै रहेको उनी आराम गर्दैछन् । सो अवार्ड उनकी पत्नी एवम् गायिका संगीता राना प्रधानले ग्रहण गरिन् । किशोरले बिगत चार दशकदेखि चलचित्र क्षेत्रमा निर्देशकको रुपमा निरन्तर पु¥याउँदै आएको योगदानको कदरस्वरुप यो सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष दिनेश डिसीले बताए । निर्देशक रानाको छोटो बृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सो समारोहमा बलिउड अभिनेता गोविन्दालाई ढाकाको सल ओढाएर सम्मान गरे । गोविन्दा सहित नेपाली चलचित्रका कलाकार, प्राविधिक एवम् उधोगी, व्यापारीले सो अवार्ड प्रदान गरे ।