गोविन्दालाई बिदेशमा नेपालीले भिनाजु र ज्वाईं भन्दा खुसी लाग्छ


व्युटी न्युज नेपाल
काठमाडौं ३१ भाद्र

बलिउड अभिनेता गोविन्दाले आफु भारतबाट विभिन्न देश जाँदा भिनाजु तथा ज्वाईं साहेव भनेर बोलाउने गरिएको बताएका छन् । यसरी बिदेशमा रहेका नेपालीले समेत त्यहाँ भिनाजु र ज्वाई साहेव भन्ने सम्बोधन गर्दा आफु ससुरालीमा भएको अनुभूति हुने गरेको उनले खुलाएका छन् ।

आईतबार काठमाडौंको राष्ट्रिय सभागृहमा सिने सर्कल अवार्ड–२०७५ समारोहमा नायक नायिकाहरुले भिनाजु र अग्रज सिनेकर्मीहरु ज्वाई साहेव भनेर सम्बोधन गरेपछि गोविन्दाले यस्तो रहस्य खोलेका हुन् । अवार्ड समारोहमा आफ्नो भनाई राख्ने क्रममा गाविन्दाले भने,‘मलाई आज यहाँ भिनाजु, ज्वाई साहेब भनेर सम्बोधन गर्दा साह्रै खुसी लागेको छ । मैले यहाँहरुको छोरी चोली विवाह गरेकाले नेपालमा जहाँ जाँदा पनि ज्वाईंको रुपमा साह्रै सम्मान पाउँदै आफैंलाई भाग्यमानी ठान्ने गरेको छु ।’

गोविन्दाले अगाडि भने,‘म भारतबाट पश्चिमा देश युरोप, अमेरिका, अस्ट्रेलिया जहाँ जहाँ पुग्छ, त्यहाँ जिजाज्यू (भिनाजु), ज्वाई साहेव भनेर सम्बोधन गर्नुहुन्छ । त्यहाँ पुगेको नेपालीले यसरी सम्बोधन गर्दै घरमा खानाको लागि निम्ता गर्नु हुन्छ ।’ त्यतीबेला आफुलाई साह्रै हर्ष लाग्ने गरेको पनि गोविन्दाले बताए,‘ उहाँहरुले आत्मीय रुपमा खानाको लागि निम्ता गर्दा नाई नास्ती नगरी चियाँ तथा खानामा समेत सरिक हुने गरेको छु ।’

गाेविन्दाले अगाडि थपे,‘कैयौं होटलमा तथा सपिङका क्रममा नेपालीहरुले ज्वाईं साहेब भन्दै पैसा नै लिनु नमान्नु भएको छ ।’
गोविन्दाले भक्तपुर साँघाकी सुनितासँग मुम्बईमा स्ट्रगलको समयमै प्रेम विवाह गरेका हुन् । मुम्बईमा पढ्दै गरेकी सुुनितासँग विवाह गरेपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको र श्रीमती सुनिताकै सहयोगले बलिउडमा सफल भएको पनि गोविन्दाले बताए ।

यो अवार्डका लागि छोरी टीना अाहुजासँग शनिबार काठमाडौं आएका गोविन्दा सोमबार मुम्बई फर्कनेछन् । उनको अर्को साता नयाँ फिल्म ‘फ्राईडे’ रिलिज हुँदैछ । अवार्ड समारोहमा गोविन्दाको फ्राईडे फिल्मको ट्रेलर प्रदर्शन गरियो । उनको बारेमा छोटो बृत्तचित्र समेत प्रस्तुत गरियो । कार्यक्रममा गोविन्दाले उत्कृष्ट चलचित्रको अवार्ड सहित विभिन्न सम्मान समेत प्रदान गरे ।