आशिष र अदीति नयाँ मोडल हन्ट


व्युटी न्युज नेपाल
काठमाडौं, ३१ भाद्र

चौथो संस्करणको मोडल हन्ट नेपाल २०१८को पुरुष मोडल तर्फको उपाधि आफ्ना ३१ प्रतियोगीलाई पछि पार्दै आशिष के.सी. जितेका छन् । उनले ५० हजार रुपैयाँ पनि पाए ।

यस्तै आफ्ना २४ प्रतियोगीलाई पछि पादै महिला तर्फको मोडल हन्ट नेपाल उपाधि अदीति अधिकारीले जितेका छन् । उनले पनि ५० हजार रुपैयाँ पाईन् । शुक्रबार साँझ काठमाडौमा आयोजित कार्यक्रममा यी दुई विजेता बनेका हुन् ।

यी दुबै मध्य आशिषले मिष्टर ओशियन तथा अदीतिले सुपर मोडल अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नुको अलवा कोरियामा संचालन हुने एलबिएमए अवार्डमा समेत भाग लिने नेपाली प्रतिनिधि बन्ने छन् । प्रतियोगीतामा आशिष र अदीतिले कमर्सियल मोडलको अवार्ड जित्न पनि सफल भए ।

प्रतियोगीतामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप घोषित भए ।

फस्ट रनर अप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार रुपैयाँ, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले १५ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा विशाल गिरी र किरण चन्द पर्सनालिटी, आदर्श ज्ञवाली र हेलि गुरुङ क्रमशः फिजिक र फिगर, सफल जंग शाह र रुबिस्का श्रेष्ठ फोटोजेनिक, पोशन शर्मा र भावना बन्जारा वेष्ट वाक अवार्डमा विजेत चयन भएका थिए ।

त्यसैगरी सम्राट चौरेल र रितु अधिकारी पपुलर, विशाल गिरी र रहिमा लामिछाने पब्लिक च्वाइस, सुजन थापा र रितिका शर्मा स्टाइलिस तथा सफल जंग शाह र सन्नी महर्जन सोशियली रेस्पोन्सिबल विधातर्फ विजेता बन्न सफल रहे ।

प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई परिष्कृत र स्तरीय बनाउन आफु सफल भएको कार्यक्रम आयोजक प्रमुख रवि धमलाले बताए ।

मोडल हन्ट नेपाल २०१८ को निर्णायक मण्डलमा फोटोग्राफर राजभाई सुवाल, आईसी ग्रुपकी शैलजा अधिकारी, फेसन डिजाइनर विश्व गौतम, मोडल माल्भिका सुब्बा तथा अभिनेत्री पारमिता राज्यलक्ष्मी राणा थिए ।

फेसन शो शैलीमा संचालन गरिएको ‘मोडल हन्ट नेपाल २०१८’ प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।