व्युटी न्युज नेपाल
काठमाडौं, २८ भाद्र

फूलमान बलको निर्देशन रहेको नेपाली लघु चलचित्र ‘सेलफोन’ अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिभल अफ न्यु जर्सीमा चयन भएको छ ।

ढ्यांग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको संघर्ष कथा समेटिएको यो लघू चलचित्रलाई बलले नै लेखेका हुन् । जसमा सेलफोन प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको १५ मिनेटको लघु चलचित्र हो ।

२० सेप्टेम्बरदेखि सुरु हुने चार दिने फेस्टिभलको फ्यामिली ड्रामा विधाअन्तर्गत ‘सेलफोन’ छानिएको हो । फेस्टिभलको तेस्रो दिन २२ सेप्टेम्बरमा सेलफोन प्रदर्शन हुनेछ । यो लघु चलचित्रमा उमेश तामाङ, शान्ति वाइबा, प्रेम लोप्चनलगायतले अभिनय गरेका छन् ।

यसमा संस्कृति र आधुनिकताबीचको संघर्ष तेस्रो विश्व मात्रै होइन, संसारभर नै छ भन्ने सन्देश प्रस्तुत गरिएको निर्देशक बलले जानकारी गराएका छन् । यसलाई ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायतले निर्माण गरेका हुन् ।

यो लघु चलचित्र केही वर्षअघि काठमाडौंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा उत्कृष्ट भएको थियो । त्यस्तै चीन, बंगलादेश, अमेरिका, कोलम्बियालगायतका मुलुकका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको अफिसियल सेलेक्सनमा चयनमा परेर प्रदर्शन भइसकेको छ ।

नेपालबाटै गायक रामकृष्ण ढकालको ‘अचेल पाइलैपिच्छे…’ बोलको गीत फेस्टिभलको म्युजिक भिडियो विधामा छानिएको छ । कृसु क्षत्रीको शब्द रहेको यो गीतसगै फेस्टिभलका लागि विश्वभरबाट झन्डै सय म्युजिक भिडियो छानिएका छन् ।