प्रिमियरमा रुचाईयो साली कसको भेनाको


व्युटी न्युज नेपाल
काठमाडौं, २७ भाद्र

काठमाडौंको बिग मूभिजमा प्रिमियर गरिएको चलचित्र ‘साली कसको भेनाको’लाई प्रिमियरमा दर्शकले रुचाएका छन् । यो चलचित्र २९ भदौबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शनको छेको पारेर यसलाई प्रिमियर गरिएको हो ।

प्रिमियरमा सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति थियो । प्रिमियर सोमा अभिनेता मदनकृष्ण श्रेष्ठले यो फिल्म हेरेपछि हास्य फिल्म निकै रमाइलो बनेको बताए । कलाकार हरिहर शर्माले समसामयिक विषयमा हास्यप्रधान चलचित्र बनाईएको बताए ।

यो चलचित्रमा विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्यलगायतको अभिनय छ । यो चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । यो चलचित्रमा मगर समुदायमा साली भेनाको सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ ।

दीर्घ गुरुङको छायांकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ । यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् ।

आफ्नो चलचित्रलाई सिनेकर्मी तथा सञ्चारकर्मीले रुचाएकोमा निर्देशक भुजेलले खुसी व्यक्त गरे । अभिनेत्री मरिस्का पोखरेलले पनि आफ्नो कामको राम्रो प्रतिक्रिया पाएको बताईन् । याे चलचित्र शुक्रबारबाट मुलुकका  विभिन्न सिनेमा हलमा रिलिज हुने भएकाे छ ।