पत्रकार बसन्तले ल्याए ७२ को विस्मय


व्युटी न्युज नेपाल
काठमाडौं २४ भाद्र

सञ्चारकर्मी बसन्त बस्नेतको ७२ को विस्मय पुस्तक पाठकमाझ ल्याएका छन् । शनिबार काठमाडौंमा एक समारोहबीच नेपालका प्रथम राष्टपति डा. रामवरण यादव, राष्टिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ र लेखकले संयुक्त रुपमा यो पुस्तक विमोचन गरे ।

कार्यक्रममा बोल्दै पूर्वराष्टपति डा. यादवले लेखक बस्नेतले अत्यन्त मिहिनेतका साथ र पुस्तक लेखेको बताए । पुस्तकमा तथ्यगत विषय प्रशस्त रहेको र यो देश र मधेस बुझ्न उपयोगी हुने पनि उनले भनाइ छ । त्यसैले पुस्तक संग्रहणीय रहेको उनले बताए । साथै उनले फरक प्रसंगमा सबैको सहमतिमा नेपालको संविधान निर्माण भएको बताए । नेपालमा यति ठूलो परिवर्तन भएको र कसै गरी पनि सर्वस्वीकार्य संविधान आओस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ । संविधान निर्माणका केही विधि र प्रक्रिया आफूलाई चित्त नबुझेको अवस्थामा समेत मधेसलगायत क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गरेको उनले बताए । उत्तर र दक्षिणमा ठूलाठूला देश रहेको र उनीहरुले प्रशस्त विकास गरे पनि नेपाल भने कहिले राजा र कहिले दलीय राजनीतिमै मात्र सीमित रहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस्तकले ०७२ सालमा घटेका घटनाका विषयमा लेखकले तटस्थता प्रस्तुत गरेको बताए । सोध अनुसन्धान गरेर पुस्तक तयार पारेको देखिने उनको भनाइ थियो,‘मधेसमा भएको भेदभावको विरुद्धमा आन्दोलन भएको र त्यसलाई पुस्तकले उजागर गरेको छ । मधेसमा अझै पनि असन्तोष र असन्तुष्टि व्याप्त रहेको र यी विषयको समाधान नभएसम्म कुनै पनि समयमा त्यो विस्फोट हुन सक्ने देखिन्छ ।’ ठाकुरले भने ।

उनले संघीयता आइसकेपछि पनि प्रदेशमा अझै केन्द्र सरकारको मनोमानी भएको बताए,‘सहिद, आन्दोलनका घाइतेका परिवारले अझै पनि राहत पाउन नसकेको अबस्था छ । त्यसका लागि सरकारले संविधान संशोधन गरी यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने हुन्छ । ’ ठाकुरले भने, ‘पुस्तकमा मधेस आन्दोलनलगायत सबै पक्षका विचार समेटिएको छ ।’

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखकले जोखिमयुक्त विषयमा कलम चलाएको बताए । यस्तो गहन र वर्जित विषयमा कसरी हात चलाए होलान् भन्ने लागेको समेत उनको भनाइ छ । यति ठूलो संघर्षबाट ल्याइएको संविधान नेपालको एउटा ठूलो तप्का त्यसप्रति असन्तुष्ट रहेको उनको धारणा छ । नेपालका जातीय, क्षेत्रीय, महिलाको क्षेत्रमा, पिछडिएका पक्षमा बोल्नेहरुलाई अझै पनि डलरवादीको आरोप लाग्ने गरेको उनले बताए । त्यसैले यस्ता विषयमा सबै संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । साथै लेखकले पुस्तकमा मधेस आन्दोलन, थारु आन्दोलन एवम् मुस्लिमहरुका विषयलाई समेत समेटेको उनले बताए,‘ किताब पठनीय रहेको र धेरै तथ्यहरु यहाँ समेटिएको छ । साथै सबैलाई पुस्तक पढ्नसमेत म अनुरोध गर्छु ।’ उनले नेपालको विषयमा विषद् अध्ययन हुनुपर्नेमा समेत जोड दिए । नेपाल सबै किसिमको इन्द्रधनुषीको मिश्रणबाट बनेको देश भएको उनले बताए । भारतले गरेको नाकाबन्दी कुनै पनि हालतमा राम्रो नरहेको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा आएका व्यक्तिलाई पनि संविधान निर्माणका समयमा आफूले यू आर टू लेट भनेर आफूले प्रतिक्रिया दिएको उनको स्पष्टोक्ति छ ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता अन्सारीले संविधान, नाकाबन्दी र भूकम्पको सेरोफेरोमा आधारित रहेर लेखिएको पुस्तकले तेस्रो मधेस आन्दोलनका तथ्यपूर्ण विषयलाई उजिल्याएको बताइन् । साथै आफूले दुईतीनपटक पुस्तक पढेकोसमेत उनको भनाइ छ । मधेसमा बस्ने जाति, समुदाय एवम् इतिहासको विषयमा बडो रोचक प्रस्तुति गरिएको उनले बताइन् ।

नेकपाका नेता तथा पूर्वसभामुख नेम्वाङले मधेस आन्दोलन, नाकाबन्दी र भूकम्पजस्तो महत्त्वपूर्ण विषयमा महत्वपूर्ण पुस्तक लेखेकोमा लेखकलाई बधाई दिए । पुस्तकमा संविधान, नाकाबन्दीका विषयमा उठेका अनेक शंकाउपशंका र मधेस आन्दोलका सूक्ष्म विषयलाई रोचक किसिमले प्रस्तुत गरिएको उनले बताए । भूकम्पले सबैतिर क्षति गरेको बेलामा छिमेकीले नाकाबन्दी गर्ला भन्ने आफूले कहिल्यै नसोचेको र अहिले पनि समग्रमा पुस्तक ओजपूर्ण बनेको उनले बताए । ‘संविधान समझदारीको दस्ताबेज हो । नेपालको संविधान बनाउन मधेस, आदिवासी, जनजाति, दलति, पहाडी आदि सबैको उत्तिकै महत्त्वपूर्ण योगदान रहेको छ ।’ उनले भने ।

कार्यक्रममा लेखक बस्नेतले आफूले कान्तिपुरमा रिपोर्टिङमा देखेका अनुभूतिलाई पुस्तकमा समेटेको बताए ।  पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । मोटो गाता भएको पुस्तकको ६०० र पातलो गाता पुस्तकको ५५५ रुपैयाँ मूल्य छ ।